एजेन्सी । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिने भएको छ ।
डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले एरिक्सनको शरीरमा आइसिडी जडान गरिने बताएका छन् । पटक पटक गरिएको मुटुको परिक्षणपछि एरिक्सनको शरीरमा आइसिडी जोड्न लागिएको उनले बताएका छन् ।
युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेका एरिक्सनको मुटुको गति नियन्त्रण गर्न आइसिडी प्रत्यारोपण गर्न लागिएको हो ।
शनिबार राति फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए ।
इन्टर मिलानका २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त खेलमा डेनमार्क १-० ले पराजित भएको थियो ।
तर, अहिले उनी ठिक भईसकेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफु ठिक रहेको बताएका छन् ।
एरिक्सनका पूर्व सहकर्मी तथा डेनमार्कका डेली ब्लाइन्डले समेत २०१९ मा आइसिडी जडान गरेका थिए । उनी युरो खेल्ने टिममा रहेका छन् ।