एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
समूह 'बी’ मा रहेको बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।
डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ ।
डेनमार्कविरुद्ध बेल्जियमले प्लेमेकर केभिन डी ब्रुएनलाई स्वागत गर्नेछ । चोटका कारण उनले पहिलो खेल गुमाएका थिए । म्यानचेस्टर सिटीका मिडफिल्डर उनी च्याम्पियन्स लिग फाइनलमा चेल्सीविरुद्ध घाइते भएका थिए ।
डेनमार्कले भने आफ्ना मुख्य खेलाडी क्रिष्टियन एरिक्सनलाई गुमाउने छ । फिनल्याण्डविरुद्ध पहिलो हाफको अन्तिमतिर हृदयघात भएर मैदानमै अचेत भएका उनी टिम बाहिर रहने छन् ।
प्लेयर्स टु वाच -
केभिन डी ब्रुएन – बेल्जियम
चोटका कारण प्लेमेकर ब्रुएनले रुसविरुद्धको पहिलो खेल गुमाए । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुएनले च्याम्पियन्स लिगको फाइनलमा चेल्सीविरुद्ध चोट बोकेका थिए ।
डेनमार्कविरुद्ध भने उनी मैदान फर्कनेछन् । टोलीका उपकप्तान समेत रहेका ब्रुएन विश्व फुटबलमा अब्बल मिडफिल्डरका रुपमा हेरिन्छ । ब्रुएनले सन् २०१५ यता सिटीबाट खेलिरहेका छन् । उनले बेल्जियमको उमेर समूहको यू-१८, १९, २१ बाट खेलिसकेका छन् । उनले सिनियर टोलीबाट ८० खेल खेल्दै २१ गोल गरेका छन् ।
मार्टिन ब्रेथवेट – डेनमार्क
बलियो बेल्जियमविरुद्ध डेनमार्कका मार्टिन ब्रेथवेटले प्रभाव जमाउन सक्छन् । पछिल्ला खेलमा बलियो डिफेन्स देखाँउदै आएको बेल्जियमको पर्खाल भत्काउने जिम्मा मार्टिनलाई हुनेछ ।
विंगर भूमिकामा समेत सहजै खेल्ने मार्टिन स्पेनिस सफल क्लब बार्सिलोनाबाट खेल्ने गर्छन । ३० वर्षीय मार्टिनले डेनमार्कको उमेर समूहमा यू–१७, १९, २१ टोलीबाट खेलिसकेका छन् । मार्टिनले सिनियर टोलीबाट ५१ खेल खेल्दा ९ गोल गरेका छन् । पहिलो खेलमा फिनल्याण्डविरुद्ध मार्टिनले ९० मिनेटनै मैदानमा बिताएका थिए ।