एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ ।
नेसनल एरिनामा हुने खेलमा युक्रेनले विंगर ओलेक्सान्डर जुब्कोभलाई गुमाउने छ । नेदरल्यान्ड्सविरुद्ध खु्ट्टामा चोट बोक्दै उनले मैदान छाडेका थिए । नर्थ म्यासेडोनियालाई खेलाडीको चोटको समस्या हुने छैन ।
हेड टु हेड हेर्ने हो भने दुई टोलीबीच दुई पटक ठुलो प्रतियोगितामा भेट भएको छ । युरो कप २०१६ को छनोटमा भएको दुबै भेटमा युक्रेनले नर्थ म्यासेडोनियालाई १–० र २–० ले पराजित गरेको थियो ।
प्लेयर्स टु वाच -
रोमन यारेमचुक– युक्रेन
नर्थ म्यासेडोनियाविरुद्ध युवा खेलाडी रोमन यारेमचुक सबैको नजरमा पर्नेछन् । यारेमचुकले युरोकपको पहिलो खेलमै आफ्नो प्रभाव छाडे । टोली पराजित भएपनि यारेमचुकले आफ्नो तर्फबाट मैदानमा ९० मिनेट डटेर खेले । जस क्रममा एक गोल समेत गरे । गोलका लागि १ पास उपलब्ध गराएका २५ वर्षीय यारेमचुकको तीन ‘सट अन टार्गेट’ रहेको थियो ।
बेल्जियमको क्लब जेन्टबाट व्यवसायिक फुटबल खेलिरहेका यारेमचुकले युक्रेनको यू–१६, १७, १८, १९ र २१ टोलीबाट खेलेका छन् । सिनियर टोलीबाट उनले २५ खेल खेल्दै ९ गोल गरेका छन् ।
एलेक्सजेण्डर ट्राजकोभस्की – नर्थ म्यासेडोनिया
युक्रेनविरुद्ध नर्थ म्यासेडोनियाका जकोभस्कीले महत्वपूर्ण खेलाडी रहनेछन् । सेन्टर फरवार्ड समेत रहेका ट्राजकोभस्कीले युक्रेनको डिफेन्स लाईनमा दबाब बढाउन सक्छन् ।
ट्राजकोभस्कीले पहिलो खेलमा अष्ट्रियाविरुद्ध ६३ मिनेट मात्रै मैदान बिताएका थिए । तर, नर्थ म्यासेडोनियाले गरेको एक मात्रै गोलमा ट्राजकोभस्कीले पास उपलब्ध गराएका थिए । २८ वर्षीय स्ट्राइकर स्पेनिस क्लब आरसिडी मालोर्काबाट खेल्ने गर्छन् । ट्राजकोभस्कीले विंगर र अट्याकिङ मिडफिल्डरको भूमिका सहजै निभाउन सक्छन् ।