एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछन् ।
युरोकपको समूह चरण अन्तर्गत आज समूह 'सी' को दुई खेल र समूह 'बी' को एक खेल हुने छन् ।
आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'सी' मा रहेको दुई टोलिबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ ।
आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह 'बी' बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।
डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ ।
आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'सी' मा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो ।
अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो ।