एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
इटाली र स्विजरल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आज इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा इटालीले टर्कीलाई हराएको थियो ।
इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो । तर, आज इटालीलाई हराएर स्विजरल्याण्ड पहिलो जित निकाल्न चाहन्छ ।
प्लेयर्स टु वाच :
लोरेन्जो इन्सीइने – इटाली
तथ्यांक हेर्दा लोरेन्जोले प्रत्येक खेलमा टोलीलाई न्याय दिँदै आएका छन् । ३० वर्षीय स्ट्राइकर स्विजल्याण्डविरुद्ध पनि प्रभावशाली प्रदर्शन गर्न सक्छन् ।
सिरी ए क्लब नापोलीबाट खेलिरहेका लोरेन्जोले टर्कीविरुद्धको पहिलो खेलमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए । ८१ मिनेट मैदान बिताएका उनले १ गोल गरेका थिए । जसमा सट अन टार्गेट १ रहँदा अफ टार्गेट १ रहेको थियो । उनको ड्रिब्लिङ भने २ रहेको थियो ।
लोरेन्जोसँग नापोलीसँग सन् २०१० बाट खेलेको अनुभव छ । मान्जिनीले इटालीको यू-२० र २१ बाट खेलेको अनुभव छ । सिनियर टोलीबाट उनले ४२ खेल खेल्दा ९ गोल गरेका छन् ।
ब्रेल एम्बोलो – स्विजरल्याण्ड
स्विजरल्याण्डका ब्रेल एम्बोलो इटालीविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् । २४ वर्षीय ब्रेल बुण्डेसलिगा क्लब बोरुसिया मुन्छेनग्लाडबाखबाट खेल्ने गर्छन् ।
ब्रेल सेन्टर फरवार्ड सहित राईट विंगर र अट्याकिङ मिडफिल्डरमा खेल्न सक्छन् । ब्रेलसँग स्विजरल्याण्डको यू-१६, २०, २१ बाट खेलेको अनुभव छ । यस्तै सिनियर टोलीबाट ४३ खेल खेल्दा ६ गोल गरेका छन् ।
बलियो इटालीको डिफेन्स लाईन चिर्न ब्रेलले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछन् । युरोकपको पहिलो खेलमा वेल्सविरुद्ध ब्रेलले ९० मिनेट खेल्दै १ गोल गरेका थिए । ३ सट अन टार्गेट राख्दा ब्रेलले १ अफ टार्गेट प्रहार गरेका छन् ।