एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (बुधबार) राति वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह 'ए’ को वेल्स र टर्कीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।
टर्की पहिलो अंक जोड्न चाहन्छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो । यस समूहमा वेल्स १ अंक जोडेर तेस्रो र टर्की अंक विहीन रहदै पुछारमा रहेको छ ।
बाकु ओलम्पिक स्टेडियममा दुबै टिमको खेलमा ३० हजार समर्थक उपस्थित हुनेछन् । टर्कीविरुद्ध मैदान उत्रदै गर्दा वेल्सको टिम पूर्ण रुपमा फिट रहनेछ । टर्कीको टिम समेत पूर्ण फिट रहेको छ ।
लेष्टर सिटीबाट खेल्दै आएका सेन्टरब्याक काग्लार सोयुन्सु आईतबारको अभ्यासमा सहभागी नभएपनि वेल्सविरुद्ध भने खेल्नेछन् । टर्कीले इटालीविरुद्ध जम्मा तीन सट मात्रै प्रहार गर्न सकेको थियो । टोलीले हालसम्म युरोपियन च्याम्पियनसिपमा देखाएको सबैभन्दा कमजोर प्रदर्शन हो ।
प्लेयर्स टु वाच -
ओजन तुफान – टर्की
होल्डिङ मिडफिल्डर तुफान वेल्सविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् । २६ वर्षीय यी खेलाडी आवश्यकता अनुसार राईट ब्याट र राईट विंगरबाट समेत खेल्छन् । उनीसँग घरेलु लिगमा फेनरवाचबाट खेलेको अनुभव छ ।
टुफानले सिनियर टोलीबाट ६१ खेल खेल्दा ९ गोल गरेका छन् । पहिलो खेलमा इटालीविरुद्ध तुफानले ६४ मिनेट मात्रै मैदान बिताए । तुफानले अन्तराष्ट्रिय फुटबलमा आयरल्याण्डविरुद्ध डेब्यु गरेका थिए ।
आरोन राम्से - वेल्स
इटालियन सिरी 'ए' क्लब युभेन्ट्सका महत्वपूर्ण खेलाडी हुन् आरोन । ३० वर्षीय मिडफिल्डरले आर्सनलमा समेत लामो समय बताएका थिए ।
मैदानको मध्यभागको बादशाह मानिने आरोनले टर्कीविरुद्ध प्रभावशाली प्रदर्शन गर्ने सम्भावना रहेको छ । बक्स टु बक्स खेल्न सिपालु आरोन विंगरको पोजिसनमा समेत खेल्न सक्छन् ।
२००८ बाट राष्ट्रिय टोलीबाट खेल्दै आएका उनले ६३ खेलमा १६ गोल गरेका छन् । युरोकपको सुरुवाती खेलमा स्विजरल्याण्डविरुद्ध आरोनले ८९ मिनेट मैदानमा बिताएका थिए ।