एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार)हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह 'बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
आज फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो ।
३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ । रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
फिनल्याण्डका सेन्टर ब्याक जुना टोइभिओ रुसविरुद्ध फिट हुने प्रयास गर्नेछन् । विंगर निकोलाई अल्हो चोटबाट मुक्त हुँदै टिममा फर्किएका छन् ।
यता, रुसका लेफ्ट ब्याक युरी झिर्कोभ फिनल्याण्डविरुद्ध टिम बहिर रहनेछन् । बेल्जियमविरुद्धको खेलमा उनले चोट बोक्न पुगेका थिए ।
प्लेयर्स टु वाच -
जोएल पोहजनपालो -
रसियाविरुद्धको खेलमा फिनल्याण्डका जोएल पोहजनपालोले प्रभाव जमाउन सक्छन् । २६ वर्षीय अट्याकरले रसियाको डिफेण्डरको वाल चिर्ने प्रयास गर्नेछन् ।
सन् २०१२ साईप्रसविरुद्ध पोहजनपालोले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उमेर समूह हुँदै राष्ट्रियमा प्रवेश गरेका उनले राष्ट्रिय टोलीबाट ४३ खेल खेल्दा १० गोल गरेका छन् ।
सन् २०१३ मा जर्मन क्लब बायर लिभरकुसेनमा आबद्ध भएका पोहजनपालो लगातार लोनमा अन्य क्लबबाट खेलिरहेका छन् । लामा सट प्रहार गर्न, पेनाल्टी प्रहार गर्न, हेडिङ प्रहार गर्न पोहजनपालो माहिर छन् ।
डेनमार्कविरुद्ध ८४ मिनेट मैदान बिताएका पोहजनपालोले एउटै सट अन टार्गेट प्रहार गर्दा निर्णायक गोल गरेका थिए ।
आर्टम ज्यूबा -
आर्टम ज्यूबा फिनल्याण्डविरुद्ध रुसका लागि महत्वपूर्ण खेलाडी हुनेछन् । ३२ वर्षीय अनुभवी स्ट्राइकर तथा कप्तान ज्यूबाले खेलमा राम्रो प्रभाव जमाउन सक्छन् ।
बेल्जियमविरुद्ध ९० मिनेटनै खेलेपनि ज्यूबाले कुनै जादु देखाउन सकेनन् । तर, फिनल्याण्डविरुद्ध उनलाई मुख्य खेलाडी मानिएको छ । उनले राष्ट्रिय टोलीबाट ५३ खेल खेल्दै २९ गोल गरिसकेका छन् ।
ज्यूबासँग घरेलु लिगमा आधा दर्जन टिमबाट खेलेको अनुभव रहेको छ । ज्यूबाले सन् २०११ मा ग्रीसविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका हुन् ।