एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई ठुला टिम फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ ।
विश्वकप विजेता फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
ग्रुप अफ डेथ मानिएको समूह 'एफ' मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्ने योजनामा हुनेछन् । दुबै टिमका लागि यस जितको छुट्टै अर्थ हुनेछ । त्यसैले दुई विश्व विजेता टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
यस खेलको प्लेयर्स टु वाचमा केलियन एमबाप्पे र सर्जी जिनाब्री रहेका छन् ।
प्लेयर्स टु वाच :
केलियन एमबाप्पे -
जर्मनविरुद्ध युवा स्ट्राइकर एमबाप्पे फ्रान्सका मुख्य खेलाडी हुनेछन् । २०१८ मा फ्रान्सलाई विश्व विजेता बनाउन उनको प्रदर्शन प्रभावकारी रहेको थियो ।
फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेल्दै आएका २२ वर्षीय एमबाप्पे तीव्र गतिमा बल अगाढी बढाउन, लामा प्रहार गर्न र विपक्षी डिफेन्डरलाई सहजै बिट गर्न माहिर छन् ।
मोनाकोबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका उनले फ्रान्सको युवा टिम यू-१७ र १९ बाट समेत खेलेका थिए । उनले सिनियर टोलीबाट ४४ खेल खेल्दा १७ गोल गरिसकेका छन् ।
सर्जी जिनाब्री -
युवा खेलाडी सर्जी जिनाब्री विश्व विजेता फ्रान्सविरुद्ध मैदान उत्रदै गर्दा टोलीका लागि महत्वपूर्ण खेलाडी रहने छन् । विंगर भूमिकामा रहने जिनाब्रीले टोलीको आवश्यकता अनुसार सेन्टरमा समेत खेल्न सक्छन्। तीव्र गतिको दौड, बल कन्ट्रोल, पास उपलब्ध गराउनु र क्रस गर्नु जिनाब्रीको मुख्य विशेषता हो ।
बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखबाट खेलिरहेका उनी केहि सिजन लोनमा होफेनहाइमबाट समेत खेलेका थिए । उनले इंग्लिस क्लब आर्सनल र वेष्ट ब्रुमबाट समेत खेलिसकेका छन् ।
जिनाब्रीले जर्मनीको उमेर समूहको यू–१६, १७, १८, १९, २१ र ओलम्पिक टिमबाट समेत खेलेको अनुभव छ । राष्ट्रिय टोलीका लागि २२ खेल खेलेका उनले १६ गोल गरेका छन् ।
जिनाब्रीले सन् २०१८ मा सान मारियोविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सान मारियोविरुद्ध जिनाब्रीले ह्याट्रिक पुरा गर्दा जर्मन ८–० विजयी भएको थियो ।