एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई ठुला टिम फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ ।
विश्वकप विजेता फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
ग्रुप अफ डेथ मानिएको समूह 'एफ' मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्ने योजनामा हुनेछन् । दुबै टिमका लागि यस जितको छुट्टै अर्थ हुनेछ । त्यसैले दुई विश्व विजेता टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
फ्रान्सलाई यस युरोमा उपाधिको प्रमुख दाबेदार मानिएको छ । फ्रान्स साविक उपविजेता समेत हो । तर, समूह चरणको पहिलो खेलमै फ्रान्सले अर्को उपाधि दाबेदार टिम जर्मनीसँग खेल्नु परेको छ ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडीएर डेसच्याम्पले यस खेललाई आफुले ठुलो खेलको रुपमा लिएको बताएका छन् ।
'सुरुवात गर्नका लागि यो ठुलो खेल हो । हाम्रो र जर्मनीका लागि पनि ठुलो खेल हो । किनकी हामी दुबै युरोपक शीर्ष टिम हौँ । दुबैको उदेश्य मैदानमा प्रभावकारी खेल्नु हो । किनकी त्यसले निर्णय गर्नेछ,' उनले भने ।
फ्रान्सको टिमसँग एक पटक अनुभवी फरवार्ड करिम बेन्जिमा समेत हुनेछन् । उनी लामोपछि राष्ट्रिय टिममा फर्किएका हुन् । यस्तै एन्टोनियो ग्रीजम्यान, केलियन एमबाप्पे जस्ता खेलाडीको साथ रहनेछ ।
जर्मनीका लियोन गोर्टेज्काले फ्रान्सविरुद्धको खेल गुमाउने छन् । उनले खुट्टाको चोट बोकेका छन् । इल्के गुण्डोगान र टोनी क्रुसले जर्मनीको मिडफिल्ड सम्हाल्ने छन् ।
'हामीले १४ दिन हामीले चाहेको गरेका छौँ । भोलि महत्वपूर्ण हुनेछ । शीर्ष टिमविरुद्ध टिमले कस्तो प्रदर्शन देखाउने छ त्यो हेर्नेछौ,' फ्रान्ससँगको खेल अघि जर्मन प्रशिक्षक जोचिम लोले भने ।
फ्रान्स र जर्मनीबीच मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २÷२ खेल जितेका छन् । दुई खेल भने बराबरीमा सकिएको छ ।