एजेन्सी । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सनले अहिले आफु ठिक रहेको बताएका छन् ।
सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफु ठिक रहेको बताएका हुन् ।
'हेलो एभ्रिवान। विश्वभरबाट तपाईहरुको पठाउनुभएको न्यानो र अद्भूत सन्देशका लागि धेरैधेरै धन्यवाद,' उनले इन्स्टाग्राममा लेखेका छन्, 'यसले म र मेरो परिवारका लागि ठूलो अर्थ राख्नेछ। म अहिले ठिक छु । मैले राम्रो महसुस गरिरहेको छु ।'

शनिबार राति फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए ।
उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त खेलमा डेनमार्क १-० ले पराजित भएको थियो ।
डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएको पुष्टि गरिसकेका छन् ।
'उनी गईसकेका थिए । हामीले कार्डियक रिससिटेसन (सीपीआर) गरेका थियौं । यो हृदयघात थियो,' डाक्टर मोर्टेनले भने, 'हामीले उनलाई एक डिफिब्रिलेसनपछि फिर्ता ल्यायौं ।'
