एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार) राति स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ ।
सेभियामा घरेलु टिम स्पेनले बलियो प्रतिद्वन्दी स्विडेनसँग खेल्नेछ । स्पेन र स्विडेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
युरोकपकै सर्वाधिक सफल टिम स्पेन आज जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा रहेको छ । तर, लुइस इन्रिकेको टिम स्पेनलाई स्विडेनविरुद्ध जित निकाल्न सहज हुने छैन । स्विडेन पनि स्पेनलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
समूह 'ई' मा रहेका दुई टिमबीच यस अघि मुख्य प्रतियोगितामा तीन खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले दुई खेलमा जित निकाल्दा स्विडेनले एक जित निकालेको छ । आजको खेल दुई टिमबीचको चौंथो भेट हुनेछ ।
ठुला प्रतियोगिताको पछिल्लो पाँच सुरुवाती खेलमा स्पेनले १ खेल मात्र जितेको तथ्यांक रहेको छ । स्विडेनले पछिल्लो आठ युरोपियन च्याम्पियनसिपमा ६ खेल गुमाएको तथ्यांक रहेको छ ।
स्विडेनविरुद्ध खेलमा स्पेनका कप्तान सर्जियो बुस्केट्स खेल्ने छैनन् । कोरोना संक्रमणको कारण उनी आईसोलेसनमा रहेका छन् । सेन्टर ब्याक डिएगो लोरेन्ट भने टिममा फर्किने आशा गरिएको छ ।
स्विडेनसँग दुई युवा खेलाडी डिजान र माटिस हुने छैनन् । दुबैमा कोरोना संक्रमण देखिएको छ । एलेक्स्जेन्डर इसाकले स्विडेनको अग्रपंति सम्हाल्ने छन् ।
प्लेयर्स टु वाच
अल्भारो मोराटा – स्पेन
स्पेनका प्रभावशाली स्ट्राइकर अल्भारो मोराटा इटालियन सिरी 'ए' क्लब युभेन्ट्सबाट खेल्ने गर्छन् । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट उनी युभेन्ट्स पुगेका हुन् । उनले गत सिजन क्लबका लागि ३२ खेलमा ११ गोल गरेका थिए।
स्विडेनविरुद्ध मोरोटा स्पेनका मुख्य खेलाडी रहनेछन् । २८ वर्षीय स्ट्राइकर मोरोटासँग स्पेनको यू–१७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव रहेको छ । उनले सिनियर टोलीबाट ४० खेलमा १९ गोल गरेका छन् ।
मोराटासँग रियल मड्रिड, चेल्सी, एट्लेटिकोबाट खेलेको अनुभव रहेको छ । उनले बेलारुससँगको खेलसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । पेनाल्टी प्रहार गर्न सफल, प्राबिधिक तथा शारीरिक रुपमा बलिया मोराटा पाएका अवसर सदुपयोग गर्न, सेट पिसमा हेडिङ प्रहार गर्न सफल मानिन्छन् ।
एलेक्स्जेन्डर इसाक – स्विडेन
स्ट्राइकर इसाक पूर्व विश्व च्याम्पियन स्पेनविरुद्ध स्विडेनका लागि मुख्य खेलाडी हुनेछन् । २१ वर्षीय युवा स्ट्राइकरइसाक ला लिगा क्लब रियल सोसीडाडबाट खेल्ने गर्छन् ।
युवा टोलीले भरिएको स्विडिस टिमलाई इसाकको प्रदर्शनले प्रभाव पार्न सक्छ । अग्रपंक्तिमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आईरहेका उनले स्पेनका डिफेन्डरहरु जोर्डी अल्वा, पाउल टोरेस जस्ता खेलाडीलाई चुनौती पेश गर्नेछन् ।
इसाकसँग स्विडिस घरेलु लिगसँगै बोरुसिया डर्टमण्डबाट खेलेको अनुभव छ । यस्तै उमेर समूहमा यू-१७, १९ र २१ बाट खेलेको अनुभव छ । उनले स्विडेनको राष्ट्रिय टोलीबाट २२ खेलमा ६ गोल गरिसकेका छन् ।