एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) राति नेदरल्यान्ड्स र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ ।
आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्स र युक्रेनले प्रतिस्पर्धा गर्ने छन् । घरेलु टिम र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
बलियो टिम नेदरल्यान्ड्स घरेलु मैदानमा युक्रेनलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । पछिल्लो सात वर्षपछि पहिलो पटक ठुला प्रतियोगिता खेलिरहेको नेदरल्यान्ड्स आफ्नो पुरानो शाख जोगाउन समेत चाहन्छ । नेदरल्यान्ड्सले २०१६ को युरोकप र २०१८ को विश्वकप गुमाएको थियो ।
नेदरल्यान्ड्स र युक्रेनबीचको खेलमा प्लेयर्स टु वाच रहने दुई खेलाडीबारे तल वर्णन गरिएको छ ।
फ्रान्की डी योङ
स्पेनिस महारथी बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका नेदरल्यान्ड्सका फ्रान्की डी योङ युक्रेनविरुद्ध मुख्य खेलाडी रहनेछन् ।
डच क्लब आयाक्समा रहदा युरोपा लिगमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनी बार्सिलोना पुगेका हुन् । डी योङले नेदरल्यान्ड्सको यू-१५, १७, १९ र २१ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
राष्ट्रिय टोलीबाट २७ खेल खेलका उनले १ गोल गरेका छन् । बल होल्डिङ, अट्याकरसम्म छिटो बल उपलब्ध गराउने, लामा सट प्रहार गर्न सफल उनले नेदरल्यान्ड्सलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ ।
ओलेक्सान्डर जिन्चेन्को
इंग्लिस क्लब म्यानचेस्टर सिटीले यस सिजन प्रिमियर लिगको उपाधि जित्दा प्रशिक्षक पेप ग्वार्डिओलाको मुख्य पात्र थिए ओलेक्सान्डर जिन्चेन्को । २४ वर्षका युवा खेलाडी जिन्चेन्को राष्ट्रिय टोलीका लागि समेत महत्वपूर्ण खेलाडी रहने छन् । सिटीमा डिफेन्डरको भूमिकामा देखिने उनी देशको लागि खेल्दा अट्याकिङ मिडलाइनबाट खेल्ने गर्छन् ।
रसियन प्रिमियर क्लब युफाबाट आफ्नो व्यवसायिक खेल सुरुवात गरेका जिन्चेन्को त्यसपछि सिटी पुगेका हुन् ।
५ फिट ९ इन्च अग्ला जिन्चेन्कोले युक्रेनको यू-१६, १७, १८, १९, २१ बाट खेलिसकेका छन् । युरोकप छनोटमा स्पेनविरुद्ध डेब्यु गरेका जिन्चेन्कोले डेब्यु गोल भने रोमानियाविरुद्धको मैत्रीपूर्णमा गरेका थिए । युक्रेनका लागि उनले ३९ खेलमा ६ गोल गरिसकेका छन् ।