एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज(आइतबार) राति अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह 'सी' मा रहेका दुई देशबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। अष्ट्रिया आज नर्थ म्यासेडोनियालाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । यता, पहिलो पटक युरोपको ठुलो प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनिया समेत सुरुवाती खेलमा राम्रो छाप छाड्न चाहन्छ ।
अष्ट्रियाका कप्तान जुलियन बाउम्गार्टलिङगर र स्ट्राइकर मार्को आर्नोटोभिक दुबै चोटमुक्त हुँदै टिममा फर्किएका छन् । पहिलो पटक ठुलो प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनियालाई खेलाडीको चोटको समस्या हुनेछैन ।
यस खेलमा दुई खेलाडी प्लेयर्स टु वाचमा रहने छन्।
मार्को आर्नोटोभिक –
अष्ट्रियाका मार्कोले पछिल्लो युरोकप छनोटको ८ खेलमा ६ गोल गरेका छन् भने १ पास उपलब्ध गराएका छन् । ३२ वर्षीय स्ट्राइकर व्यवसायिक फुटबल चीनको चाइनिज सुपर लिगमा सांघाई पोर्टबाट खेल्ने गर्छन् । ६ फिट ४ इन्चका मार्को नर्थ म्यासेडोनियाका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । मार्कोसँग इन्टर मिलान, स्टोक सिटी, वेष्ट हाम युनाईटबाट खेलेको अनुभव समेत छ । मार्कोले देशका लागि ८८ क्याप जित्दा २६ गोल गरेका छन् ।
गोरान पाण्डेभ –
नर्थ म्यासेडोनियाका अनुभवी स्ट्राइकर हुन् गोरान पाण्डेभ । ३७ वर्षीय यी अट्याकरले अष्ट्रियाविरुद्ध महत्वपूर्ण भूमिका खेल्न सक्छन् । नर्थ म्यासेडोनियाका लागि ‘डेन्जर फिनिसर’ का रुपमा चिनिदै आएका गोरान इटालियन सिरि 'ए' क्लब जेनोआबाट व्यावसायिक फुटबल खेल्ने गर्छन ।
गोरानले युरो कपको छनोट खेलमा २ गोल गरेका थिए । ६ फिट अग्ला कप्तान गोरान ३७ गोल गर्दै नर्थ म्यासेडोनियाका सर्वाधिक गोलकर्ता समेत हुन् ।
इटाली क्लब लाजियोबाट आफुलाई चर्चामा ल्याएका गोरानले नापोली, गालातासारे, इन्टर मिलानबाट खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट ११९ खेल खेलेका छन् । सेन्टर फर्वाड तथा राईट विंगर दुबै भूमिका सहजै निभाउने गोरान अष्ट्रियाका लागि घातक सावित हुन सक्छन् ।