काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाईनिज ताईपेविरुद्ध बिहीबार खेल्दैछ ।
अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र ताईपे भिड्न लागेका हुन् । त्यसपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
कोरोना महामारीकाबीच नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो । दुई पटकसम्म स्थगित भएको खेल अन्तत उच्च तापक्रम रहेको कुवेतमा हुने निश्चित भएको थियो ।
यसअघि चार अवे खेल खेलेको नेपालले बाँकी चार खेल होम मैदानमा खेल्ने तय थियो । कुवेतविरुद्ध पहिलो होम खेल मैदान तयार नहुँदा ‘न्युट्रल भेन्यु’का रुपमा भुटानको थिम्पुमा भएको थियो । कोरोना महामारीका कारण समूह बीका सबै टोलीले कुवेतमा खेल्ने तय भएको हो ।
सोहि अनुसार यतिबेला नेपाली टिम कुवेत पुगेको छ । फिफा वरीयतामा आफुभन्दा १०३ औं स्थान माथिको इराकसँग मैत्रिपूर्ण खेल खेलेर नेपाली टिम इराकबाट २ घण्टाको स्थलमार्ग हुँदै कुवेत पुगेको हो ।
अब नेपालले कुवेतमा ८ दिनभित्र ३ खेल खेल्नेछ । पहिलो खेल ताईपेविरुद्ध हुनेछ । कतारमा हुने विश्वकप र चीनमा हुने एसिया कपको लागि समेत छनोट माध्यम रहेको प्रतियोगिताको समूह बी मा नेपालले एक जित दर्ता गराएको छ । चाईनिज ताईपे जित विहीन छ ।
चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् ।
पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० को बाजी मारेको थियो ।

दुई टोलीको भेटमा नेपाल गोल विहीन हुनु परेको छैन । तेस्रो भेटमा समेत नेपाल आफुभन्दा ३० औं स्थान माथिको ताईपेविरुद्ध सोही नतिजालाई निरन्तरता दिन चाहन्छ । बाँकी दुई खेलमा ताईपेभन्दा बलिया टोली रहेका कारण नेपाल ताईपेविरुद्ध स्पष्ट ३ अंक चाहन्छ ।
फिफा वरीयतामा नेपाल भन्दा ताईपे माथि छ । ताईपे १४१ औं स्थानमा छ भने नेपाल १७१ स्थानमा छ ।
७६ साल जेठ २४ गते ताईपेमा भएको पहिलो भेटमा नेपाल र ताईपेले १–१ गोलको बराबर खेलेका थिए । मैत्रीपूर्ण खेलमा एक गोलले पछि परेको अवस्थामा युवा खेलाडी अभिषेक रिजालले ताईपेविरुद्ध बराबरी गोल गरेका थिए । अघिल्लो खेलमा मलेसियाविरुद्ध बेन्चबाट डेब्यु गरेका रिजालले ताईपेविरुद्ध सुरुवाती ११ मा रहँदै गोल गर्न सफल रहे ।
दोस्रो भेट फिफा विश्वकप छनोट अन्तर्गत ताईपेमै भएको थियो । समूहको एक मात्रै जितमा नेपालका लागि अन्जन बिष्टले महत्वपूर्ण दुई गोल गरेका थिए । पहिलो हाफमा एक र दोस्रो हाफमा उनले एक एक गोल गर्दै नेपाललाई पहिलो जित दर्ता गराएका थिए ।

तेस्रो भेट अघि दुबै टोलीले समूहको शीर्ष स्थानमा रहँदै विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेका छन् । ताइपेको भने दोस्रो स्थानको समेत अवसर रहेको छैन । नेपाललाई भने बाँकी तीन खेलमा जित निकालेपनि अघिल्लो चरण पुग्न असम्भव देखिएको छ ।
दुबै टोलीलाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।
समूह बी मा ४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहिन हुदै तालिकाको पुछारमा छ ।
नेपाल र ताईपेबीच हेड टु हेड :
पहिलो भेट :
२०७६ साल जेठ २४ गते, नेपाल १–१ ताईपे (अभिषेक रिजाल)
दोस्रो भेट :
२०७६ साल भदौ २४ गते, नेपाल २–० ताइपे (अन्जन बिष्ट)
समूहमा नेपालको प्रदर्शन :
१, कुवेत ७–० नेपाल
२, ताईपे ०–२ नेपाल
३, अष्ट्रेलिया ५–० नेपाल
४, जोर्डन ३–० नेपाल
५, नेपाल ०–१ कुवेत
समूह चरणमा ताईपेको प्रदर्शन :
ताईपे १–२ जोर्डन
ताईपे ०–२ नेपाल
ताईपे १–७ अष्ट्रेलिया
कुवेत ९–० ताईपे
जोर्डन ५–० ताईपे