एजेन्सी । चेल्सीका प्रशिक्षक थोमस टुचेलले प्रिमियर लिग फुटबलमा शीर्ष चारको दौड नसकिएको बताएका छन् ।
एफ ए कपको बदला लिदै प्रिमियर लिगको पछिल्लो खेलमा लेस्टरलाई पराजित गरेको चेल्सी प्रशिक्षक टुचेलले लक्ष्य अझै पुरा नभएको प्रतिक्रिया दिएका हुन् ।
यसै हप्तामात्र चेल्सीले एफ ए कपको फाईनलमा लेस्टर सिटीसंग १–० को हार ब्यहोरेको थियो । मंगलबार राति बदला लिदै चेल्सीले लेस्टरलाई २–१ गोल अन्तरले हरायो ।
चेल्सीले लेस्टरलाई हराउँदै प्रिमियर लिगमा शीर्ष चारको दौडमा आफुलाई बलियो बनाएको छ । लिगको अन्तिम खेलमा जित निकाल्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने अवसर चेल्सीलाई रहेको छ ।
मंगलबार राति चेल्सीको जितमा जोर्गिन्हो र एन्टोनी रुडजरले एक एक गोल गरे । लेस्टरका केलिची इहनाचोले एक गोल फर्काएका थिए ।
खेलको नतिजापछि चेल्सी प्रशिक्षक टुचेलले अझै काम नसकिएको बताएका छन् । करिब ८ हजार दर्शक सामु चेल्सीले स्टामफोर्ड ब्रिजमा दुई गोलको अग्रता लिएको थियो । जोर्गिन्होले पेनाल्टीमा गोल गरेको खेलमा रुडजरले क्रस बललाई पोस्टको दिशा दिएका थिए ।

जित सहित चेल्सी तेस्रो स्थानमा उक्लियो । चेल्सी र लेस्टरले अब लिगमा एक खेल खेल्न बाँकी छ । पाँचौ स्थानको लिभरपुलले अझै दुई खेल खेल्न बाँकी छ । लिगको अन्तिम खेलमा एस्टन भिल्लालाई पराजित गरेमा चेल्सी सहजै शीर्ष चारको स्थान पक्का गर्नेछ ।
‘यो निकै उत्कृष्ट प्रर्दशन थियो । तर काम अझै सकिएको छैन । हामीसंग अझै दुई खेल बाँकी छ ।’ उनले स्काई स्पोर्टससंग भने ।
चेल्सीले लिगको अन्तिम खेलमा एस्टन भिल्ला र च्याम्पियन्स लिगको फाईनलमा म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्दैछ ।
‘दर्शकको उपस्थितीले धेरै फरक पार्यो । तपाई हाम्रो खेलको गति हेर्न सक्नुहुन्छ । भोग र प्यास हेर्न सक्नुहुन्छ । यो निकै बलियो प्रर्दशन थियो । टिम आफ्ना प्रशंसक समक्ष यसरी आफुलाई प्रस्तुत गर्न सक्छ ।’ उनले भने ।
‘हामीलाई नतिजा आवश्यक थियो । यो निकै ठुलो जित हो । तर यो उत्सव मनाउने समय हैन ।’ टुचेलले थपे, ‘कपमा ठिक्कको प्रर्दशन थियो । तर मंगलबार उच्च स्तरको प्रर्दशन रह्यो ।’
‘पहिलो हाफ साच्चिकै सुखद रह्यो । स्तर र शक्ति देखियो । दोस्रो हाफ राम्रै रह्यो । हामीले सजिलो गोल दियौं । अन्तिममा केही समस्या भयो । तर समग्रमा हामी जितको योग्य थियौं ।’ उनले भने ।