काठमाडौं । कुवेती प्रो लाईसेन्स प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फिफा विश्वकप छनोट र ईराकसंगको मैत्रीपूर्ण खेलका लागि ६ नयाँ अनुहार सहित अन्तिम २३ खेलाडी छनोट गरेका छन् ।
प्रशिक्षक अब्दुल्लाहले मंगलबार फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँगको खेल र ईराकसंगको मैत्रीपूर्ण खेलका लागि अन्तिम २३ खेलाडी छनोट गरेका हुन् ।
यसअघि प्रशिक्षक अब्दुल्लाहले नेपाल आगमनसँगै ३२ खेलाडी नाम सार्वजनिक गरेका थिए । उनले जेठ १ गते सकिएको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)सँगै केही नयाँ खेलाडीको नाम झिकाएर चोट बोकेका खेलाडीलाई बाहिर राखेका हुन् ।
पहिलो प्रारम्भिक छनोटमा अजित भण्डारी, सुजल श्रेष्ठ, तेज तामाङ, विकेश कुथु, संजोक राई, छिरिङ गुरुङ, त्रिदेभ गुरुङलाई बाहिर राखेका प्रशिक्षक अब्दुल्लाहले अन्तिम छनोटमा भरत खवास, रंजित धिमाल, रवि पासवान, दर्शन गुरुङलाई समेत टिममा नलिने निर्णय गरे । उनले निशान खड्का, विवेक बस्नेत, नितिन थापालाई पनि अन्तिम ३२ मा समेटेनन् ।
प्रशिक्षक अब्दुल्लाहले आधा दर्जन खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा अवसर दिएका छन् । उनले मनिष डांगी, सुरज सिह ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र विशाल सुनारलाई पहिलो पटक स्थान दिएका हुन् । नयाँ अनुहारका रुपमा राष्ट्रिय टिममा परेका खेलाडीले एनएसएलमा प्रभावशाली प्रदर्शन गरेका थिए ।
नयाँ ६ खेलाडीको संक्षिप्त परिचय
विशाल सुनार (गोलरक्षक)
प्रशिक्षक अब्दुल्लाहले विशाल श्रेष्ठ र विकेश कुथु जस्ता अनुभवी खेलाडीलाई बाहिर राख्दै युवा गोलरक्षक विशाल सुनारलाई टोलीमा सामेल गरेका हुन् । एन्फा एकेडेमीका विशाल आफ्नो दोस्रो अवसरमा टोलीमा स्थान बनाएका हुन् । यस अघि थ्री नेसन्स कपका लागि अभ्यासमा रहेका विशाल अन्तिम समय टोलीबाट बाहिरिएका थिए ।

१९ वर्षीय विशाल राष्ट्रिय टोलीको क्लोज क्याम्पमा प्रभाबशाली प्रदर्शन गरेसँगै एनएसएलमा अधिकतम मुल्य २ लाखमा चितवन पुगेका थिए । रातो कार्ड ब्यहोर्नु अघि एनएसएलमा ५ खेल खेलेका विशालको प्रदर्शनले प्रशिक्षक अल्मुतारी प्रभाबित भएका थिए ।
एन्फा एकेडेमीका अग्ला कदका विशालले यू-१६, १८ र १९ उमेर समूहमा देशको प्रतिनिधित्व गरिसकेका छन् । उनले दुई सिजनको 'ए' डिभिजन लिग व्रिगेड ब्वाइज क्लबबाट खेलेका थिए । विशाललाई मनाङ मर्स्याङ्दी जस्तो सफल क्लबले आखा लगाईरहेको छ ।
गौतम श्रेष्ठ (डिफेण्डर)
पछिल्लो सिजन 'ए' डिभिजन लिगमा जावलाखेल युथका लागि खेल्दै आएका युवा डिफेण्डर गौतम श्रेष्ठ गत महिना भएको एएफसी छनोटको पहिलो र दोस्रो चरणको छनोटमा त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गरेका थिए ।
लेफ्ट ब्याकमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका २१ वर्षीय गौतमलाई सो प्रतियोगितामा नियालेका प्रशिक्षक अब्दुल्लाहले आफ्नो लिष्टमा तोनेका हुन् । आगामी लिगमा आर्मीको जर्सीमा देखिने गौतमले दशरथ रंगशामा भएको किर्गीस्तानविरुद्धको खेलमा आर्मीबाट राम्रो प्रदर्शन गरेका थिए ।

एनएसएलमा पोखरा थण्डर्सबाट खेलेका गौतमले पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एनएसएलमा ४ खेल सेटमा खेल्दा उनले एक खेलमा मात्रै ७५ मिनेटमा मैदान छोडेका थिए । राष्ट्रिय टोलीको लेफ्ट ब्याकमा आर्मीकै सुमन अर्यालमात्रै रहँदा उनले डेब्यु सम्भावना प्रबल रहेको छ ।
आयुष घलान (मिडफिल्डर, विंगर)
एनएसएलले चम्काएका खेलाडी हुन् आयुष घलान । एनएसएलमा पुरा ६ खेलनै पोखराबाट सेटमा रहेर खेलेका आयुषले प्रशिक्षक आब्दुल्लाहलाई प्रभावमा पार्न सफल भए । १७ वर्षमै एकेडेमी बाहिर रहेर राष्ट्रिय टोलीमा स्थान बनाएका मिडफिल्डर तथा विंगर आयुषले एक खेल पुरै समय खेल्दा अन्य खेलमा दोस्रो हाफमा परिवर्तन भएका थिए ।

एनएसएलमा ४१० मिनेट खेलेका आयुष पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । खुमलटारबाट 'बी' डिभिजन लिग खेलेका घलानलाई पोखराले आहा रारा गोल्डकपमा गरेको प्रदर्शनका आधारमा स्थानीय कोटामा क्लबमा तानेको हो । युवा खेलाडी चुनिएका घलानले संकटालाई पहिलो पटक आहा रारा गोल्डकपको उपाधि दिलाउन भुमिका खेलेका थिए ।
सुरज जिउ ठकुरी (मिडफिल्डर)
जावलाखेलबाट 'ए' डिभिजन लिग खेल्दै आएका सुरज पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहे । विराटनगर सिटी एफसीबाट ९ खेलनै खेलको सुरजलाई प्रशिक्षक अब्दुल्लाहले विश्वास गरेका छन् ।

विराटनगरबाट सुरुवाती ३ खेल दोस्रो हाफमा खेलेका सुरजले पछिल्ला तिन खेलमा भने प्रभाबशाली प्रदर्शन गर्दै पुरा मिनेट खेलेका थिए । २१ वर्षीय सुरजले एनएसएलमा ३४० मिनेट खेलेका छन् ।
मनिष डांगी (मिडफिल्डर, विंगर)
दक्षिण कोरोयाको एकेडेमीबाट खेल्दै आएका मनिष गत वर्ष मात्रै घरेलु फुटबलमा चर्चामा आएका थिए । विदाको मौका पारेर खालीबारी युथ क्लबबाट 'सी' डिभिजन लिग खेलेपछि मनिष सिधै उमेर समूहको यू-१८ टोलीमा परेका थिए ।
यू-१८ मा राम्रो प्रदर्शन गरेका मनिषलाई प्रशिक्षक मेघराज केसीले एएफसी यू-१९ छनोटमा स्थान दिए । त्यसपछि नेपालमै भविष्य देखेका मनिषले विराटनगर सिटीबाट पहिलो पटक ठुलो लिग खेलेका हुन् । ६ खेलमा बेन्चबाट सुरुवात गरेपनि उनको खेललाई प्रशिक्षक अब्दुल्लाहले मन पराए । पहिलो पटक राष्ट्रिय टोलीका कल भएका मनिषले पहिलो अवसरमै प्रशिक्षकको मन जित्दै टोलीमा स्थान बनाए ।

मिडलाइनसँगै विंगर र अट्याकमा प्रभाव जमाउन सक्ने मनिषले आगामी दिनमा समेत आफ्नो प्रभाव राष्ट्रिय टोलीमा देखाउन सक्छन् । हालसम्म शहिद स्मारक ए डिभिजिन लिगको स्वाद नचाखेका १९ वर्षीय मनिषले एनएसएलमा ६ खेलनै बेन्चबाट सुरु गर्दा १५४ मिनेट मात्रै मैदानमा बिताएका थिए ।
कमल थापा (मिडफिल्डर)
प्रशिक्षक अब्दुल्लाहले बोलाएको नयाँ ६ खेलाडीमा लो प्रोफाइलका खेलाडीनै कमल थापा हुन् । कुनै समय एन्फा एकेडेमीका यी खेलाडी गुमनाम रहँदै आए । पछिल्लो सिजन उनले हिमालयन शेर्पाबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
एनएसएलबाट चर्चामा आएका कमलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एकेडेमीमा विमल घर्ति मगर, अन्जन बिष्टको ब्याजका खेलाडी रहेका उनी एनएसएलमा समेत भाग्यमानी रहे ।

पोखराका भिषण गुरुङलाई कोरोना लागेसँगै स्थानीय खेलाडीको कोटामा कमलले स्थान पाएका हुन् । उनले एनएसएलको पछिल्ला ३ खेल मात्रै खेल्न पाए । त्यो पनि बेन्चमै रहेर । २३ वर्षीय कमलले एनएसएलमा जम्मा १९ मिनेट खेलेका छन् ।