काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा हुदैछ ।
पहिलो संस्करणको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षक उपाधि जित्ने योजनासहित मैदान उत्रने बताईसकेका छन् ।
काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको उल्लेख गरे । ‘लिग चरण र सेमिफाइनल (प्लेअफ) मा हार भएको थियो । त्यो खेलमा भएको कमीकमजोरीलाई सुधार गर्दै उपाधि घरमै राख्ने योजना साथ खेल्छौं ।’ फाइनलका अघिल्लाे दिन प्रशिक्षक महर्जनले भने ।
उनले अघिल्ला दुई खेलमा धनगढीसँग पराजित भएको उल्लेख गर्दै तेस्रो भेटमा भने बदला लिने सुनौलो अवसर रहेको बताए । ‘तेस्रो खेलमा प्रमणित गर्ने सुनौलो अवसर रहेको छ । घरमा जितेर उपाधि राख्न भरपुर मेहनत गर्नेछौं ।’ प्रशिक्षक महर्जनले थपे ।
दुवै टाेली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्ने पक्का भएको हो । दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो । फाइलनमा घरेलु मैदानमा काठमाडौंलाई धनगढीविरुद्ध दुई हारको बदला लिने अवसर रहेको छ ।
काठमाडौंका मार्की तथा कप्तान विकेश कुथुले दुई खेलको हारबाट पाठ सिकेको र फाइनलमा जित्ने योजना सहित खेल्ने बताए । ‘लिगमा उतार चढाब भयो । पाठबाट सिकेर फाइनल सम्म पुगेका छौं । उपाधि जित्ने हिसाबले खेल्छौं ।’ कुथुले भने ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई पराजित गर्दै काठमाडौं फाइलनमा पुगेको हो । त्यसअघि पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएको थियो ।

अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलकाे साथ फाइनल खेलमा मैदान उत्रने बताउँछ । ‘दुई भेटमा काठमाडौंलाई पराजित गरिसकेका छौं । प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधिका लागि खेल्छौं ।’ धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले भने ।
उनले टोलीको रिकभरी समय रहेकाले फाइनलमा चोटकाे समस्या नभएकाे बताए ।
धनगढीका आईकोनिक खेलाडी तथा कप्तान किरण कुमार लिम्बुले फाइनल खेल निकैनै प्रतिस्पर्धात्मक हुने उल्लेख गर्दै प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधिका लागि खेल्ने प्रतिक्रिया दिए ।
‘तेस्रो भेट हो । यहाँसम्म आउँदा कहिल्यै सहज भएन । फाइनल खेल समेत निकैनै प्रतिस्पर्धात्मक हुन्छ । काठमाडौंलाई सम्मान गर्छाै । बिश्वास छ उपाधि जित्नको लागि खेल्छौं ।’ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान समेत रहेका किरणले भने ।
फाइनलमा दुबै टोलीको अट्याकिङ लाइन बलियो देखिन्छ । धनगढीका स्ट्राइकर ओलावाले आफिजले ४ गोल गरेका छन् । काठमाडौंका मेसौके ओलोमेउले ७ गोल गरिसकेका छन् । मेसौके प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो र एक्ला खेलाडी हुन् ।
एनएसएलमा धनगढीको प्रदर्शन -
विराटनगरविरुद्ध धनगढी ३–०
धनगढीविरुद्ध काठमाडौं ३–०
ललितपुरविरुद्ध धनगढी १–१
धनगढीविरुद्ध चितवन ३–०
धनगढीविरुद्ध पोखरा १–०
धनगढीविरुद्ध बुटबल लुम्बिनी ०–१
प्लेअफ -
काठमाडौंविरुद्ध धनगढी २–१
काठमाडौंको प्रदर्शन -
काठमाडौंविरुद्ध ललितपुर १–०
धनगढीविरुद्ध काठमाडौं ३–०
काठमाडौंविरुद्ध पोखरा ०–०
बुटबल लुम्बिनीविरुद्ध काठमाडौं ०–१
काठमाडौंविरुद्ध विराटनगर ५–४
चितवनविरुद्ध काठमाडौं १–०
प्लेअफ :
काठमाडौंविरुद्ध धनगढी १–२
इलिमेटर राउण्ड :
ललितपुरविरुद्ध काठमाडौं ०–३