काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल भोलि (शनिबार) हुँदैछ ।
पहिलो संकरणको फाइनलमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र धनगढीबीचको उपाधि भिडन्त साँझ ५:३० बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैदानमा उत्रदा दुबै टिम पहिलो च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन् ।
प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षक उपाधि जित्ने योजनासहित मैदान उत्रने बताएका छन् ।
काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको सुनाए ।
‘लिग चरण र सेमिफाइनल (प्लेअफ) मा हार भएको थियो । त्यो खेलमा भएको कमीकमजोरीलाई सुधार गर्दै उपाधि घरमै राख्ने योजना साथ खेल्छौं,’ प्रशिक्षक महर्जनले भने ।
उनले अघिल्ला दुई खेलमा धनगढीसँग पराजित भएको र तेस्रो भेटमा भने बदला लिने सुनौलो अवसर रहेको बताए ।
‘तेस्रो खेलमा प्रमणित गर्ने सुनौलो अवसर रहेको छ । घरमा जितेर उपाधि राख्न भरपुर मेहनत गर्नेछौं,’ प्रशिक्षक महर्जनले थपे ।

यी टोली एकै प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यस अघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्ने पक्का भएको हो ।
दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो । त्यसैले फाइलनमा घरेलु मैदानमा काठमाडौंलाई धनगढीविरुद्ध दुई हारको बदला लिने अवसर रहेको छ ।
टोलीका मार्की तथा कप्तान विकेश कुथुले दुई खेलको हारबाट पाठ सिकेको र फाइनलमा जित्ने योजनासहित खेल्ने बताए ।
‘लिगमा उतारचढाब भयो । यस्तै पाठबाट सिकेर फाइनल सम्म पुगेका छौं । उपाधि जित्ने हिसावले खेल्छौं ।’ कुथुले भने ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई पराजित गर्दै काठमाडौं फाइलनमा पुगेको हो । त्यसअघि पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएको थियो ।

अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलमा हुनेछ । धनगढी तेस्रो भेटमा समेत काठमाडौंलाई हराउँदै उपाधि घर लैजान चाहन्छ ।
‘हामीले दुई भेटमाकाठमाडौंलाई पराजित गरिसकेका छौं । प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधिका लागि खेल्छौं,’ धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले भने ।
उनले टोलीको रिकभरी समय रहेकाले फाइनलमा चोट नरहने बताए ।
यस्तै टोलीका आईकोनिक तथा कप्तान किरण कुमार लिम्बुले फाइनल खेल निकैनै प्रतिस्पर्धात्मक हुने र प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधिका लागि खेल्ने प्रतिक्रिया दिए ।
‘यो हाम्रो तेस्रो भेट हो । यहाँसम्म आउँदा कहिल्यै सहज भएन । फाइनल खेल समेत निकैनै प्रतिस्पर्धात्मक हुन्छ । काठमाडौंलाई सम्मान गर्छाै । बिश्वास छ उपाधि जित्नको लागि खेल्छौं ।’ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान समेत रहेका किरणले भने ।

फाइनलमा दुबै टोलीको अट्याकिङ लाइन बलियो देखिन्छ । धनगढीका स्ट्राइकर ओलावाले आफिजले ४ गोल गरेका छन् । काठमाडौंकामेसौके ओलोमेउले ७ गोल गरिसकेका छन् । मेसौके प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो र एक्ला खेलाडी समेत हुन् ।
एनएसएलमा धनगढीको प्रदर्शन -
विराटनगरविरुद्ध धनगढी ३–०
धनगढीविरुद्ध काठमाडौं ३–०
ललितपुरविरुद्ध धनगढी १–१
धनगढीविरुद्ध चितवन ३–०
धनगढीविरुद्ध पोखरा १–०
धनगढीविरुद्ध बुटबल लुम्बिनी ०–१
प्लेअफ -
काठमाडौंविरुद्ध धनगढी २–१
काठमाडौंको प्रदर्शन -
काठमाडौंविरुद्ध ललितपुर १–०
धनगढीविरुद्ध काठमाडौं ३–०
काठमाडौंविरुद्ध पोखरा ०–०
बुटबल लुम्बिनीविरुद्ध काठमाडौं ०–१
काठमाडौंविरुद्ध विराटनगर ५–४
चितवनविरुद्ध काठमाडौं १–०
प्लेअफ ः
काठमाडौंविरुद्ध धनगढी १–२
इलिमेटर राउण्ड ः
ललितपुरविरुद्ध काठमाडौं ०–३