काठमाडौं । काठमाडौं रेजर्स एफसी पहिलो संकरणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।
काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको आठौं मिनेटमा ललितपुरका भिलिम पोसिन्कोभिचले गोलको अवसर गुमाएका थिए । काठमाडौं गोलकिपर विकेश कुथु बिट भईसकेको अवस्थामा नुर्लानले दिएको क्रसमा भिलिमले खाली पोस्टमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको नवौं मिनेटमा काठमाडौंका स्टेफेनको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो । रिबाउन्डमा आएको त्यहिँ बलमा आशिष राईको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरिएको थियो ।
तर, खेलको खेलको १५ औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।
मेसौकेको पासमा स्टेफेनले बल अगाडी बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । जसमा मेसौकेले गोल गरे ।
खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २-० को अग्रता दिलाए । तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडी बढाउदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले उत्कृष्ट गोल गरे ।

२८ औं मिनेटमा ललितपुरका गौरव बुढाथोकीले गोलको सुन्दर अवसर गुमाए । कप्तान अन्जन बिष्टको पासमा गोलकिपर विकेश अघि बढेको अवस्थामा गौरवले खाली पोस्टमा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
त्यसपछि खेलको ६० औं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३-० को जित दिलाए । उनले तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलरक्षक अर्पण कार्कीसँगको वान भर्सेज वानमा उत्कृष्ट गोल गरे ।
खेलको ७१ औं मिनेटमा काठमाडौंका डिफेन्डरले फाउल गरेपछि ललितपुरले फ्रिकिक पाएको थियो । तर, डोना थापाको फ्रिकिक प्रहार क्रसबारको केही माथिबाट बाहिरियो ।

७९ औं मिनेटमा ललितपुरका अन्जनले बक्स बाहिरबाट गरेको प्रहार पनि आकाशिएको थियो ।
खेलको ८० औं मिनेटमा मैदानको दायाँ भागबाट प्रवेश कुँवरको प्रहारलाई गोलकिपर विकेश कुथुले बचाए ।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहदा अन्जनको पासमा नुर्लानको हेडर आकाशिएको थियो ।
खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका आशिष गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ ।
धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर फाइनल पुगेको हो ।
दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको ललितपुर भने बाहिरिएको छ ।