एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले प्रिमियर लिग सर्वाधिक कठिन लिग भएको बताएका छन् ।
सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएपछि प्रशिक्षक ग्वार्डीओलाले प्रिमियर लिग कठिन लिग भएको बताएका हुन् ।
मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेष्टर सिटीसँग २-१ ले पराजित भएपछि सिटीले उपाधि जितेको हो ।
'म स्पेनमा थिए । जर्मनीमा थिएँ र म भन्न सक्छु की यो सबैभन्दा कठिन लिग हो । त्यसैले सबैको लागि यो ठूलो हो,' ग्वार्डीओलाले भने ।
जर्मनीमा बायर्न म्युनिख र स्पेनमा बार्सिलोनालाई लिग उपाधि दिलाएका प्रशिक्षक ग्वार्डीओला २०१६ मा सिटी आएका हुन् ।
सिटीका लागि ग्वार्डीओलाले आठ घरेलु उपाधि दिलाईसकेका छन् । उनले सिटीलाई तेस्रो पटक लिगको उपाधि दिलाएका हुन् ।
यस्तै प्रशिक्षक ग्वार्डीओलाले यस सिजनको उपाधि जित्न निकै कठिन भएको बताए ।
'यो सबैभन्दा गार्हो थियो । हामी यो सिजनको उपाधिलाई सधै सम्झने छौँ । मलाई यहाँको प्रशिक्षक र यी खेलाडीहरुसँग रहदा गर्व लागेको छ,' ग्वार्डीओलाले थपे ।
५० वर्षीय प्रशिक्षक ग्वार्डीओलाले यस उपाधिका लागि खेलाडीहरु विशेष रहेको समेत बताए ।