एजेन्सी । चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेल दुई फरक क्लबबाट लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक बनेका छन् ।
चेल्सीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राएपछि टुचेल लगातार दुई सिजन फाइनल पुग्ने पहिलो प्रशिक्षक बनेका हुन् ।
गत सिजन जर्मन प्रशिक्षक टुचेलले फ्रेन्च क्लब पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राएका थिए । तर, गत सिजन पीएसजी फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडलाई समग्रमा ३-१ ले पराजित गर्दै चेल्सी फाइनल पुगेको हो ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले रियललाई २-० ले हराएको थियो ।
चेल्सीलाई जित दिलाउन टिमाे वेर्नेर र मासन माउन्टले एक एक गोल गरे ।
यस्तै पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो ।
अब चेल्सीले उपाधिका लागि अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ ।