काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा मंगलबार काठमाडौं रेजर्सले दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।
जितपछि काठमाडौंका मुख्य प्रशिक्षक बाल गोपाल महर्जन खुसी देखिए । उनले जित निकाल्नै पर्ने खेलमा तीन अंक आएको बताए ।
'हामीले जित्नै पर्ने थियो । त्यसै अनुरुप खेल्यौं । पहिलो हाफ सोचे जस्तो भएन । तर, दोस्रो हाफमा हामीले राम्रो खेल्यौं,' उनले भने ।
काठमाडौंलाई जित दिलाउन स्टेफेन बिनोङले निर्णायक गोल गरेका थिए ।
यस्तै महर्जनले खेलमा थुप्रै अवसर पाएपनि सदुपयोग गर्न नसकिएको बताए ।
'सब्सिच्युट खेलाडीले पनि राम्रो खेले । हामीले केही अवसरहरु निकालेका थियौं । त्यो अवसरलाई सदुपयोग गर्न सकेनौं,' उनले भने ।
जितसँगै काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
काठमाडौंले ४ खेलमा ७ अंक जोडेको छ ।