काठमाडौं । काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन स्टेफेन बिनोङले निर्णायक गोल गरे ।
आक्रामक खेल पस्किएको काठमाडौंले बुटवलमाथि सुरुवातबाटै दबाबमा राखेको थियो ।

खेलको चौंथो मिनेटमा काठमाडौंका तेज तामाङको क्रसमा स्टेफेन बिनोङको हेडर बुटवलका गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट उत्कृष्ट बचाउ गरे ।
तर, पाँचौं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाए । सुदिल राईको लामो पासमा गोलरक्षक विशाल श्रेष्ठ आउन ढिलो गरेपछि स्टेफेनले सहजै गोल गरेका थिए ।
खेलको छैटौं मिनेटमा बुटवलले पेनाल्टीबाट बराबरी गर्ने मौका पायो । काठमाडौंका विश्वास श्रेष्ठले सुमन लामालाईलडाएपछि बुटवलले पेनाल्टी पाएको थियो ।
तर, पेनाल्टीमा बुटवलका विलियम ओपोकु गोल गर्न चुके । उनको प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाऊ गरे ।

खेलको १८ औं मिनेटमा कर्नरबाट आएको बलमा छिरिङ गुरुङको प्रहार बुटवलका डिफेन्डर ओलोलाजा करिमले गोल लाइनबाट बचाए ।
पहिलो हाफको इन्जुरी समयमा काठमाडौंका आशिष राईको डिबक्स बाहिरबाटको सशक्त प्रहार पोस्टबारमा लाग्दै फर्किएको थियो ।
खेलको ६४ औं मिनेटमा आशिष लामाको प्रहार पोस्टको नजिकैबाट बाहिरिदा बुटवल बराबरी गर्न असफल भएको थियो ।
खेलमा काठमाडौंका कप्तान विकेश कुथु प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका सुदिल राई चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
काठमाडौंले ४ खेलमा ७ अंक जोडेको छ ।
बुटवलको यो पहिलो हार हो । यस हारसँगै बुटवल शीर्ष स्थानमा उक्लन असफल भएको छ ।
बुटवल ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा झरेको छ ।