काठमाडौं । चार खेल । दुई गोल । मात्र तीन अंक । जारी एनएसएलको टिम ललितपुर सिटी एफसीको प्रर्दशन हो यो ।
नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा उपत्यकाको टिमको प्रतिनिधित्व गर्दै ललितपुर प्रतियोगितामा छ ।
पहिलो संस्करणको प्रतियोगितामा चार खेल खेलिसक्दा भाटभटेनी सुपर मार्केट स्वामित्वको ललितपुरले खराब नतिजा आत्मसाथ गर्यो ।
ललितपुरले ४ खेल खेलिसक्दा मात्र तीन अंक छ । उसले विपक्षीको पोस्टमा जम्मा २ गोल गरेको छ । अब मात्र दुई खेल बाँकी छ । शीर्ष चारमा पुग्ने गणितिय सम्भावना मात्र छ । यस हिसाबले ललितपुर तनावको अवस्थाबाट गुज्रिरहेको छ ।
फुटबलमा भाटभटेनी सुपर मार्केटको आबद्धता नयाँ हैन । यसअघि मछिन्द्रलाई ए डिभिजन लिग च्याम्पियन बनाउन भाटभटेनीले राम्रै भरथेग गरेको थियो । तर एनएसएलमार्फत भाटभटेनी देखिने गरि फुटबलमा आयो । एनएसएलमा ललितपुरको आगमन आक्रमक छ ।
विदेशी खेलाडी अनुबन्धन गर्नेदेखि टिम व्यवस्थापनमा ललितपुरले दिल खोलेर खर्च गरेको छ । कामना गुरुङ ललितपुर सिटी एफसीकी मालिक हुन् । तर सबै सम्हाल्छन्, भाई कल्याण गुरुङले । कल्याण आफैपनि खेलकुदका पारखी हुन् । सबै प्रकारका खेल हेर्छन् । आफै नियमित फुटसल खेल्छन् । तर फुटबल औधी मन पराउँछन् । एनएसएलमा निकै जोड गरेर भाटभटेनीले ललितपुर सिटी एफसी पाएको हो ।
एनएसएलको तयारी ललितपुरले पोखरामा गर्यो । त्यसपछिको केही दिन उपत्यकाको विभिन्न मैदानमा । युरोपेली लिगमा आबद्ध राम्रै खेलाडी टिममा आबद्ध गर्यो । अन्जन विष्ट मार्की खेलाडी रहेको ललितपुरले बलियो टिम बनाएको थियो । तर नतिजा ठिक उल्टो आयो । उनले एकपछि अर्को खेलमा गोलै गर्न सकेन । लगातार दुई खेलमा पाएको दुई पेनाल्टी सदुपयोग नहुनु अर्को दुर्भाग्य रह्यो । रेफ्रीका केही विवादास्पद निर्णयले समेत उसलाई घाटा गर्यो । ललितपुरलाई पहिलो सिजनको एनएसएललले साँच्चिकै तनाव बढाएको छ ।
एनएसएल सुरु हुने संघारमा ललितपुरले आक्रमक सुरुवात सहित मार्की खेलाडीमा राष्ट्रिय टोलीका युवा खेलाडी अन्जन विष्ट भित्र्याएको थियो । लगत्तै मुख्य प्रशिक्षकमा प्रदिप हुँमागाईलाई अनुबन्धन गर्यो ।
तर टोलीबाट प्रदर्शन सोचेजस्तो हुन सकेको छैन । साँच्चिनै के भैरहेको छ त ललितपुर सिटी एफसीलाई ? यो प्रश्नको उत्तर प्रशिक्षक हुँमागाईसंग समेत छैन ।
ते्रस्रो खेलमा धनगढी एफसीसँग परािजत भएपछि प्रशिक्षक हुमागाईले भनेका थिए, ‘के भैरहेको छ, मलाई थाहा छैन । राम्रो खेलेका छौं । फिनिसिङ हुन सकेको छैन । हामीले आत्मसमिक्षा गर्नुपर्छ ।’
ललितपुरले प्रतियोगिताकै लागि विदेशी खेलाडी क्रोएसियाका भिलिम पोसिकोभिच, अजरबैजानका नुर्लान नोभ्रुजोभ जाहिद र नाईजेरियन पिटर सेगुन भित्र्याएको थियो ।
यसअघि तीन खेलमा पिटर बाहेक दुई खेलाडीले खेले । श्रम स्विकृती नहुँदा चौथो खेलमा मात्रै पिटर मैदान उत्रन पाए । अचम्मको कुरा चौथो खेलमा आएर मात्रै पेपरमा आधिकारीक २० खेलाडी पाउने टोली ललितपुर बन्यो ।
विदेशी खेलाडीबाट समेत राम्रो प्रदर्शन नपाएका प्रशिक्षक हुमागाईले केही समय अघि भनेका थिए, ‘नेपाली खेलाडी र विदेशी खेलाडीको स्तर एउटै हो । जसलाई खेलाए पनि आउने प्रदर्शन बराबर हो ।’

प्रतियोगिताको चौथो खेलमा समेत तीन अंक जोड्न नसकेको ललितपुरले पोखरा थण्डर्सविरुद्ध बराबरीमा चित्त बुझायो । गोल बिनै खेल सक्किएको थियो । तर दुई खेल खेल्न बाँकी रहदा दबाबमा रहेको ललितपुरले मुख्य प्रशिक्षक प्रदिप हुमागाईलाई बर्खास्त गरेको छ ।
हुमागाईलाई बर्खास्त गर्दै सहायक प्रशिक्षक राजु तामाङलाई कार्यवहाक तोकिएको छ ।
प्रशिक्षक हुमागाई बर्खास्त नभएर राजीनामा भनिरहेका छन् । तर क्लबको बर्खास्तको निर्णयपछि उनको राजीनामा आएको हो । राजीनामा पत्रले हुँमागाईको ‘फेस सेभिङ’ गर्न सक्छ, तर ललितपुरको कमजोर नतिजा छल्न सक्दैन ।
चौथो खेलमा समेत जित निकाल्न नसकेपछि प्रशिक्षक हुमागाईले खेलाडीले प्रदर्शन दिन नसकेको बताए । उनले यसको जिम्मेवारी आफुले लिने बताए ।
‘खेल्न सकिएन । जुन प्रदर्शन गर्नु पर्ने थियो, खेलाडीले त्यो गर्न सकेनन् । सबैले राम्रो खेल्न सकेनन् । दबाब भन्दा पनि मन खिन्न भयो । हामिले जित्नु पर्ने थियो, सकेनौ । यसको जिम्मेवारी म लिन्छु । ’

ललितपुर सिटी उद्घाटन खेलमा काठमाडौं रेजर्ससंग १–० ले पराजित बनेको थियो । दोस्रो खेलमा एफसी चितवनविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा १–१ को बराबरीमा रोकिन पुग्यो ।
तेस्रो खेलमा एक गोलले पछि परेको अवस्थामा भने ललितपुरले धनगढी एफसीसँग बराबरी खेल्न सफल भएको थियो । ललितपुरले एफसी चितवन र धनगढीविरुद्ध प्राप्त पेनाल्टी सदुपयोग गर्न सकेन ।
चितवनविरुद्ध अन्जनको पेनाल्टी गोलरक्षक विशाल सुनारले बचाउ गरे भने धनगढीविरुद्ध अजरबैजानका खेलाडी नुर्लानको पेनाल्टी कप्तान किरणले रोकेका थिए ।
ललितपुरले अब आफ्नो बाँकी खेलमा बुटबल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीसँग खेल्नेछ । उसलाई शीर्ष चारमा रहने गणितिय सम्भावना बाँकी छ । त्यसका लागि उसले बाँकी दुई खेलमा सत प्रतिशत जित निकाल्नुपर्ने हुन्छ । बाँकी अन्य टोलीको नतिजामा भर पर्नेछ ।
