काठमाडौं । विराटनगर सिटी एफसीका मिडफिल्डर एडेलाजा सोमिडेले नेपाल सुपर लिग (एनएसएल) मा गरेको आफ्नो पहिलो गोल गर्भमा रहेको बच्चालाई समर्पण गरेका छन् ।
एनएसएलको आफ्नो पहिलो खेलमा धनगढी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजय सुरुवात गर्ने क्रममा नाईजेरियन मिडफिल्डर एडेलाजाले एक गोल गरेका थिए ।
गोल गरेपछि टिम साथी र प्रशिक्षकसँग ‘टच लाईन’मा ‘सेलेब्रेसन’ गरेलगत्तै एडेलाजाले ‘बल ब्वाई’ सँग बल माग्दै आफ्नो श्रीमती गर्भवती भएको जनाउँदै बललाई जर्सी भित्र राखेर चुम्बन गरेका थिए ।
विराटनगरको जितमा डिफेन्डर बिक्रम धिमाल र मिडफिल्डरद्वय एडेलाजा र सन्तोष तामाङले एक एक गोल गरेका थिए ।

विजय सुरुवात गर्ने क्रममा डिफेण्डर बिक्रम धिमालले खेलको १६ औं मिनेटमा गोल गरे । 'ए' डिभिजन लिगमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबाट खेलिसकेको अनुभव रहेका बिक्रमले डिबक्सभित्र पाएको अवसरलाई सहजै सदुपयोग गरे ।
खेलको ५७ औं मिनेटमा एडेलाजाले दोस्रो गोल गरे । उनले डिफेण्डर र गोलरक्षक तथा कप्तान किरण लिम्बुलाई बिट गर्दै ब्यक्तिगत पहिलो तथा टोलीको लागि दोस्रो गोल गरे ।
खेलको ६९ औं मिनेटमा म्यान अफ दि म्याच समेत चुनिएका सन्तोष तामाङले गोल गर्दै टोलीलाई ३-० को जित निश्चित गराए । त्रिभुवन आर्मी फुटबल क्लबबाट 'ए' डिभिजन लिग खेलिरहेका सन्तोषलाई थ्रीस्टार र च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलिसकेका सुनिल बलले बल उपलब्ध गराएका थिए ।
जितसँगै उपाधि दाबेदार विराटनगरले तालिकामा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
खेलपछि एडेलाजाले आफ्नो श्रीमती एडेमाइड गर्भवती भएको बताएका थिए । हाल नाईजेरियामा रहेकी एडेमाइडले ४ महिनाको गर्भ बोकेकी छिन् ।
कोरोना महामारि पछि गृह नगर फर्किएका एडेलाजा केहि हप्ता अघि मात्रै एनएसएल खेल्न नेपाल फर्किएका थिए ।

एडेलाजाले यस अघिका दुई सिजन समेत नेपालमै बिताईसकेका छन् । गत सिजन मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिगको उपाधि दिलाएका एडेलाजाले त्यस अघि (बिना रेलिगेशन) को लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
लिग जितेसँगै एडेलाजाले मनाङबाट प्रतिनिधित्व गर्दै एएफसी कपको समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए ।
दुबै क्लब (मनाङ, मछिन्द्र) बाट एक एक सिजन लिग खेलको मिडफिल्डर एडेलाजा सोमिडेले समान ४-४ गोल गरेका थिए ।
शीर्ष स्थानमा रहेको विराटनगरले अब आफ्नो दोस्रो खेलमा पोखरा थण्डर्सको सामना गर्नेछ ।

