काठमाडौं । बुटवल लुम्बिनी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा पोखरा थन्डर्स एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन अर्मान्ड बेडुमले एक गोल गरे ।
यस्तै बुटवलले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको दोस्रो मिनेटमा बुटवलका फरवार्ड अर्मान्ड बेडुमले गोलको सुनौलो मौका गुमाए । गोलकिपर तथा कप्तान विशाल राईको लामो पासमा पेनाल्टी बक्स भित्रबाटको उनको फितलो प्रहार पोखराका गोलकिपर दीप कार्कीले बचाए ।
खेलको २३ औं मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठको पेनाल्टी बक्स बाहिरबाटको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।
२५ औं मिनेटमा पोखराका नितिन थापाको पेनाल्टी बक्स भित्रबाटको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
खेलको २८ औं मिनेटमा पोखराका राजेशको उत्कृष्ट फ्रिकिक पोस्टको केहि इन्चमाथिबाट गएको थियो । बुटवलका रबिन श्रेष्ठले रबि पासवानलाई फउल गरेपछि पोखराले फ्रिकिकको मौका पाएको थियो ।
खेलको ४२ औं मिनेटमा अर्मान्ड बेडुमले गोल गर्दै बुटवललाई १-० को अग्रता दिलाए ।
मान बहादुर परियारको लामो फ्रिकिकमा अर्मान्डको हेडर पोखराका डिफेन्डर अजित भण्डारीलाई लाग्दै गोल भएको थियो ।
खेलको ५८ औं मिनेटमा बुटवलका लक्षण रुचालको पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको सशक्त प्रहार पोखराका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे ।

खेलको ६६ औं मिनेटमा लक्षण रुचालको पासमा सुमन लामाको डिबक्स बाहिरबाटको सशक्त प्रहार पोस्ट बारमा लागेर फर्किदा बुटवल अग्रता दोब्बर बनाउन चुकेको थियो ।
७२ औं मिनेटमा पोखराका राफायल रिमगागोको पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल पोस्ट बारको केहि माथिबाट गएको थियो ।
खेलको ७५ औं मिनेटमा पोखराका मौसा अब्बाको फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।
त्यसपछि खेलको ७६ औं मिनेटमा पोखराका अजित भण्डारीले आत्मघाती गोल गरे । अमिर श्रेष्ठको क्रस क्लियर गर्ने क्रममा अजितले आफ्नै पोस्टमा गोल गरेका थिए ।
खेलको इन्जुरी समयमा बुटवलका विलियम ओपोकुको फ्रिकिक पोस्ट बारमा लागेर फर्किएको थियो ।
खेलको म्यान अफ दि म्याच बुटवलका अर्मान्ड चुनिए । उनले २५ हजार प्राप्त गरे ।
खेलको प्रोमोसिङ प्लेयर अफ दि म्याच बुटवलका आमिर श्रेष्ठ चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।
यस जितसँगै बुटवलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोखराले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार (भोलि) एक खेल हुनेछ । सोमबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।