काठमाडौं । धनगढी एफसीका प्रशिक्षक युगल किशोर राईले फुटबल एक हारले नसकिने बताएका छन् ।
नेपाल सुपर लिगको पहिलो खेलमा विराटनगर सिटी एफसीसंग ३–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक राईले सो कुरा बताएका हुन् ।
उनले विराटनगरविरुद्ध गोल गर्न नसकेको र गोल समेत रोक्न नसकिएको बताए ।
‘फुटबलमा कि गोल गर्नुपर्छ । कि गोल रोक्नु पर्छ । हामीले दुवै गर्न सकेनौं ।’ उनले भने ।
प्रशिक्षक राईले प्राप्त अवसरको सदुपयोग गर्न नसक्दा खेल हार ब्यहोर्नु परेको बताए ।
प्रशिक्षक राईले टोलीको प्रर्दशनको भने प्रशंसा गरे ।
‘हामी प्राविधिक रुपमा राम्रै थियौं । तर फुटबलमा निकै कम अवसर प्राप्त हुन्छ । हामीले प्राप्त अवसरमा गोल गर्न सकेनौं ।’ उनले भने ।
प्रशिक्षक राईले धनगढीको तुलनामा विराटनगरले राम्रो फुटबल खेलेको बताए ।
‘तीन शुन्यको हार निकै ठुलो हार हो । फुटबलमा एउटा हारले सकिदैन् ।’ उनले थपे ।
प्रतियोगिताको उपाधि दाबेदार मानिएको धनगढीले एनएसएलको पहिलो खेलमा ठुलो अन्तरको हार ब्यहोरेको छ । मार्की खेलाडी विशाल राई सहित मुख्य फरवार्ड ओलावाले अफिज समेत विराटनगरविरुद्ध चल्न सकेनन् ।
राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले तीन गोल ब्यहोरेको खेलमा धनगढीको डिफेन्स लाईन समेत फिक्का देखियो । विदेशी डिफेन्डर टेम्पे र दिनेश राजवंशीले विराटनगरको दबाब झेल्न सकेनन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंशगालामा विराटनगरको जितमा बिक्रम धिमाल, एडिलाजा र सन्तोष तामाङले गोल गरे ।
प्राप्त जितपछि विराटनगरका प्रशिक्षक खुसी देखिए ।
‘प्रतिद्धन्दी उच्च स्तरको थियो । तर हाम्रो टिमका खेलाडीले निकै राम्रो खेले ।’ विराटनगरका प्रशिक्षक विदेशी प्रशिक्षक यान लले भने ।