इलाम । आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजकले उपाधि रक्षा गरेको हो ।
उपाधिसंगै कनकाईले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हाम्रो इटहरीले ६१ हजार रुपैया प्राप्त गर्न सफल रहयो ।
कनकाई माविको खेल मैदानमा भएको फाइनल खेलमा कनकाईको जीतमा रमेश गुरुङ र सन्तोष बस्नेतले गोल गरे । खेलको १३ औँ मिनेटमा रमेशले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
इटहरीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै सन्तोष बस्नेतले उपलब्ध गराएको क्रसलाई रमेशले गोलको दिशा दिएका थिए । त्यस्तै, रमेशको पासमा सन्तोषले टिमका लागि २४ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । ४४ औँ मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । गोलपोस्टको दायाँ बार च्यापेर सन्तोषले गरेको प्रहार गोलरक्षको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच आयोजक कनकाईका सन्तोष बस्नेत भए । उनलाई ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा युवा व्यवसायी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे ।
प्रतियोगिता भरिको उत्कृष्ट गोलरक्षक कनकाईका सञ्जय ठाकुर घोषित हुँदै नगद दुई हजार प्राप्त गरे । उत्कृष्ट खेलाडी रमेश गुरुङ घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईंलगायतले पुरस्कार वितरण गरेका थिए । कनकाई भेट्रान्स क्लबको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगितामा प्रदेश एकका ८ वटा टिम सहभागी थिए ।