काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) भोलि (शनिबार) बाट सुरु हुँदैछ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीचको खेलसँगै लिगको सुरुवात हुनेछ । उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
प्रतियोगिताको पूर्व सन्ध्यामा फ्रेन्चाइज टिमका प्रशिक्षक र कप्तानले टिमको तयारीबारे जानकारी दिएका छन् ।
प्रि-म्याच कन्फरेन्समा बोल्दै सात टिमका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् । यस्तै उनीहरुले टिमलाई तयारीको अभाव भएको समेत बताए ।
के भन्छन् कप्तान र प्रशिक्षक ?
धनगढी एफसी -
युगल किशोर राई (प्रशिक्षक)
तयारीको समय छोटो थियो । छोटो समयमा पनि राम्रै भयो । केही गोल्डकपले पनि असर गर्यो । आर्मी एफसी कप खेल्न गोवा गएकाले प्रशिक्षणमा केही असर गर्यो ।
खेलाडीमा चोटको समस्या छैन । सबै खेलाडी फिट छन् ।

किरण चेम्जोङ (कप्तान)
हामी आफ्नो टिममा भएको आत्मविश्वास र सोचले खेलमा राम्रो प्रदर्शन गर्ने छौँ । महामारीको समय पनि यस्तो खेल खेल्न पाएका छौँ । खेलाडीका लागि यो खुसीको विषय हो । हामीले छोटो समयको तयारी गरेकोले आफुले आफुलाई मोटिभेट गर्नु पर्ने बेला भएको छ ।
पहिलो पटक सुपर लिग भईरहेको छ । हामी सबै मिलेर यसलाई सफल बनाउनु पर्नेछ ।
विराटनगर सिटी एफसी
यान ल (प्रशिक्षक)
यो राम्रो प्रतियोगिता हो। पहिलो पटक हुँदैछ । छोटो समयका लागि हुँदैछ । तर पनि खेलाडीका लागि राम्रो हो ।
नेपालमा मेरो पहिलो पटक कोचिङ हो । तयारीको लागि समय थोरै भयो । तर पनि हामी च्याम्पियन बन्नका लागि खेल्ने छौँ ।
नेपाली फुटबलका लागि यो राम्रो कदम हो । म भारत र नेपालको फुटबलमा तुलना गर्न चाहदैन ।

रंजित धिमाल (कप्तान)
तयारी राम्रो भएको छ । खेलाडीले शतप्रतिशत दिएका छन् हामी पनि अन्य टोलि जस्तै जित्नका लागि आएका हौँ ।
बुटवल लुम्बिनी एफसी
सनोज श्रेष्ठ (प्रशिक्षक)
तयारी शतप्रतिशत राम्रो भएको छ । खेलाडी पनि सबै फिट छन् । विदेशी खेलाडी पनि राम्रा छन् । सबै फिट समेत छन् । मुख्य कुरा टिममा चोट छैन ।

विशाल श्रेष्ठ (कप्तान)
तयारी राम्रो छ । तर टिमको प्रशिक्षण ढिला भयो । गोल्डकपले गर्दा खेलाडीहरु टिममा ढिला सामेल भए ।
चितवन एफसी
मेघराज केसी (प्रशिक्षक)
पहिलो पटक हुन लागेको यस्ता प्रतियोगिताका लागि यो तयारीले पुग्दैन । प्रतियोगितामा हामी च्याम्पियनको दाबेदारी प्रस्तुत गर्ने छौँ ।
खेलमा खेलाडीलाई प्राथमिकता दिनु पर्छ । त्यो हुन सकेन । खेलाडीलाई खोजेर प्रशिक्षण गर्नु पर्ने अवस्था छ । हामीले राम्रा खेलाडी अक्सनबाट किनेका छौँ । हाम्रो विदेशी खेलाडी पनि राम्रा छन् । उनीहरुको मुख्य भूमिका पनि रहने छ । मलाई आशा उनीहरुको प्रदर्शन पनि राम्रो हुनेछ ।
सन्सुको बेश राम्रो छ । उनी राम्रो खेलाडी हुन । उनी एक भविष्य बोकेको एक खेलाडी हो । उसमा फुटबलको ज्ञान भने राम्रो छ ।

भरत खवास (कप्तान)
हामीले टिमसँग धेरै तयारी गर्न पाएनौं। तर पनि सबै क्लबका सदस्यहरुको सहयोगले राम्रो भएको छ ।
काठमाडौं रेजर्स
बाल गोपाल महर्जन (प्रशिक्षक)
टिमको तयारी जति हुनु पर्ने हो त्यो हुन सकेन । यो हाम्रो मात्र हैन सबै टोलिको यस्तै भयो होला । हाम्रो तयारी जस्तो भएपनि दाबेदारी प्रस्तुत गर्ने छौ । कम तयारीले गर्दा हामीले केहि विदेशी खेलाडीमा पनि भर पर्नु पर्नेछ ।

विकेश कुथु (कप्तान)
हामीले तयारी थोरै पाएपनि सबै खेलाडी राम्रो छन् । सबै फिट छौँ । पहिलो पटक यस्तो प्रतियोगिता हुदैछ । राम्रो गर्ने छौँ ।
ललितपुर सिटी एफसी
प्रदिप हुमागाई (प्रशिक्षक)
तयारी राम्रैछ । कस्तो भयो भन्ने कुरा खेल खेलेपछि मात्रै भन्न सकिन्छ । लामो समयपछि नेपाली मैदानमा फर्किदै छौँ । हाम्रो योजना प्रतियोगितामा राम्रो गर्ने हो । त्यो गर्ने छौ ।

अन्जन विष्ट (कप्तान)
हामी भोलिको खेलका लागि तयारीमा छौँ । यो छोटो समयमा पनि राम्रो टिम बनेको छ ।
पोखरा थन्डर्स
राजेश शाही (सहायक प्रशिक्षक)
प्रतियोगिताको तयारीमा हामीले पोखरामा १० दिनको तयारी गर्यौं । समय थोरै भए पनि प्रशिक्षण राम्रै भयो। एक महिना जति भएको भए अझै राम्रो हुने थियो ।
यो प्रतियोगिताले प्रशिक्षक र खेलाडीलाई पनि नयाँ उचाईमा पुर्याउने छ भन्ने मैले विश्वास लिएको छु ।
