काठमाडौं । मेघराज केसीले क्लब फुटबलबाट बिदा लगिसकेका थिए । घरेलु फुटबलको संरचना र सञ्चालनबाट दिक्क भएका उनी क्लब फुटबलमा नफर्कने निर्णयमा थिए । उनी एकेडेमी बनाएर बाँकी जिवन फुटबलमा समर्पित गर्न चाहन्थे । फुटबल प्रशिक्षकको रुपमा समर्पित उनी एकेडेमीमार्फत राम्रा खेलाडी उत्पादन गर्ने योजनामा थिए ।
जब एनएसएलको चर्चा सुरु भयो, टिमहरु प्रस्ताव बोकेर मेघराजसंग पुग्न थाले । एक हैन, दुई हैन, धेरै टिम मेघराजलाई अनुबन्धित गर्न चाहन्थे । घरेलु फुटबलका हाईप्रोफाईलका प्रशिक्षक मेघराजले आखिर नजितेको पनि केही छैन । घरेलु लिग हुँदै अधिकांश उपाधि उनको नाममा छन् ।
खेलाडीमा कडा अनुशासन खोज्ने मेघराज अलि हक्की पनि मानिन्छन् । क्लब फुटबलका हरेक आयाम बुझेका मेघराज फ्रेन्चाईज फुटबललाई लिएर उत्साहीत थिए । अब घरमै टिम मालिक दबाब दिन आएपनि थेग्न सक्ने अवस्था रहेन । र उनले रोजे, एफसी चितवन । मार्की प्लेयरको रुपमा टिमले रोज्यो, भरत खवासलाई । मेघराज कडा मेहनत गर्न रुचाउँछन् । खेलाडीमा पनि त्यही खोज्छन् । टिम गेममा विश्वास गर्ने उनी नतिजा निकाल्न माहिर छन् ।

मेघराज तयारीका लागि प्राप्त समयबाट सन्तुष्ट छैनन् । तर प्रतियोगिता हुनुनै ठुलो कुरा रहेको बताउँछन् । ‘छोटो समयमा खेल्नुपर्नेछ । एनएसएलका हुनुनै ठुलो कुरा हो । तयारीको समय टिमलाई चाहिने जति छैन । पहिलो पटक प्रतियोगिता हुदैछ । सक्दो तयारी गरिरहेका छौं ।’ उनले भने ।
उनले समय अभावका बीच तीन हप्तादेखि प्रशिक्षण गरिरहेको बताए ।
‘विगत तीन हप्तादेखि अभ्यास गरिरहेका छौं । एएफसी कपले गर्दा केही समस्या पार्यो । सतप्रतिशत नभएपनि टिम तयार गरिसकेको छौं ।’ उनले थपे ।
चितवनको स्वामित्व आईएमई ग्रुप अन्तर्गत रहेको छ । यसका अध्यक्ष हुन्, सचिन ढकाल । बुवा चन्द्र ढकालले नेपालमा व्यवसायको साम्राज्य खडा गरेका छन् । अध्यक्ष सचिन फ्रेन्चाईज फुटबलमार्फत व्यवसायीक उडान भर्न उद्धत देखिन्छन् । र उनले टिमको लक्ष्य र सपना राखिदिएका छन्, उनै मेघराजको हातमा । जो घरेलु फुटबलका सर्वाधिक सफल प्रशिक्षक हुन् ।
चितवनको म्यानेजर बनेका छन्, रुपेश अधिकारी । उनी एन्फाका केन्द्रिय सदस्य हुन् । व्यवसायीक पृष्ठभुमीका उनी आफै टिम किन्ने हैसियत राख्छन् । तर फुटबलप्रतिको प्यासनले उनलाई चितवनको म्यानेजर बनाएको छ ।
म्यानेजर बनेकै दिन उनले घोषणै गरिहाले, मैले म्यानेजर बनेर पाउने तलब चोटको उपचार गराईरहेका महिला खेलाडीलाई दिनेछु ।

‘टिमको कुरा गर्न समय बाँकी छ । अझै हेर्न छ । केही मैत्रीपुर्ण खेलका लागि तयारी गरिरहेका छौं । विदेशी खेलाडीको सामान्य अभ्यास गराईरहेका छौं । तर अन्तिम टुङ्गो केही समयपछि लाग्छ ।’ टिम संरचनाबारे मेघराज भन्छन् ।
प्रशिक्षक मेघराज उपाधिका लागिनै आफुले टिममा मेहनत गरिरहेको बताए । अन्य टिमबारे धेरै थाहा नभएका कारण तत्काल भन्न मिल्ने अवस्था नरहेको उनको जिकिर छ । केही खेलपछि मात्र उपाधि यात्राबारे बोल्न सकिने उनी बताउँछन् । मेघराज दाबी गर्ने खालका हैनन्, तर उनी यसपटक उपाधिमा दाबी गरिरहेका छन् । पहिलो संस्करणको प्रतियोगिता जितेर ईतिहास बनाउने शोख उनमा छ ।

‘उपाधिका लागि पनि मेहनत गरिरहेका छौं । प्रतिद्धन्दी टिमबारे थाहा छैन । १–२ म्याच खेलेपछि बोल्न सकिन्छ । हाम्रो लडाँई उपाधिका लागि हो । र उपाधि जित्नेमा विश्वस्त छौं ।’ उनी भन्छन् ।