एनएसएल – धनगढीकाे उच्च मनाेबल

काठमाडौं । क्रिकेटको शहर भनेर चिनिदै आएको छ, धनगढी । पहिलो पटक अक्सनमार्फत धनगढीको फाप्ला क्रिकेट मैदानमा फ्रेन्चाईज क्रिकेट लिग आयोजना गरिएको थियो । सहभागी ६ टोलीलाई प्रतियोगितामा बटुलेका थिए गो ड्रिमर्स प्राली र मालिक सुबास शाहीले ।
उनै सुबासले अब भने क्रिकेट संचालनसँगै फुटबललाई समेत अगाडी बढाउनेछन् । यसअघि क्रिकेटको फ्रेन्चाईज गर्दै आएका शाहीले अब भने अर्को परिचय थप्नेछन् । फ्रेन्चाईज फुटबल टोलीको मालिक बन्दै फुटबललाई ब्यवसायीक रुपमा अघि बढाउने अग्रणी भूमिका खेल्नेछन् ।
शनिबार सुरु हुने नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीले सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै प्रतियोगितामा आफ्नो दाबेदारिता प्रस्तुत गर्नेछ ।
एनएसएल घोषणा हुने बित्तिकै मार्की खेलाडीमा धनगढीले बाजी मार्यो । उसले बिशाल राईलाई अनुबन्धन गर्दै मार्की खेलाडी अनुबन्धन गर्ने पहिलो टोली बन्यो । संगै विदेशी प्रशिक्षक तोपे फुजालाई प्रशिक्षकको रुपमा घोषणा गर्यो ।
पहिलो संस्करणको एनएसएलमा राष्ट्रिय टोलीका कप्तान किरण लिम्बुलाई जोड्दै धनगढी एफसीले आफुलाई बलियो र चम्किलो बनाउने प्रयास गरेको छ । हरेक क्षेत्र (पोजिसन)मा अब्बल खेलाडीलाई समेटेको धनगढी प्रतियोगिताको आकर्षक र आक्रमक टिम देखिन्छ ।
सुदूरपश्चिम भुगोलसँगै फुटलबलाई अगाडी बढाउन प्रयास गरेको धनगढीलाई प्रशिक्षकमा नाइजेरियन तोपे फुजा र नेपालबाट ए लाईसेन्स उत्तिर्ण गरेका युगल किशोर राईले साथ दिनेछन् । दुवै प्रशिक्षकले टिमको लक्ष्य तय गर्नेछन् ।
फुटबललाई लिएर उत्साहीत धनगढी प्रतियोगिता खेल्न तयार छ । खेलाडीको चोटको समस्या छैन । करिब दुई हप्ता प्रशिक्षणमा बिताएको उसले सबै खेलाडी फिट रहेको जानकारी खेलपाटीलाई दिएको छ ।
‘प्रतियोगिताको लागि तयारी छौं । करिब १०–१२ दिन राम्रोसँग तयारी गर्न पाएका छौं । अरु टोलीको पनि राम्रो छ । खेलाडीमा चोटको समस्या छैन । प्रतियोगिताका लागि पुरा तयार छौं ।’ प्रशिक्षक युगल किशोर राईले खेलपाटीसँग भने ।
पक्कै पनि युगल टोलीका मुख्य प्रशिक्षक हुनेछन् । उनीसँग ए लाईसेन्स कोर्ष उत्तिर्ण गरेको प्रमाणपत्र छ । प्रशिक्षक रहनेछन्, तोपे फुजा । उनि नेपाली फुटबललाई नजिकबाट बुझेका प्रशिक्षक मानिन्छन् । उनले मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि दिलाएका थिए । पछिल्लो सिजन समेत उनी मनाङमै थिए ।
लगातार दुई सिजन नेपाली फुटबलमा रहेर काम गरेका फुजाको अनुभवलाई धनगढीले विश्वास गरेको छ । त्यसैले सुरुमै उसले फुजालाई टिममा अनुबन्धन गरिहाल्यो ।
एनएसएल छोटो समयमै तयार भयो । धेरै टोलीले राम्रोसंग तयारी गर्नै पाएनन् । कोरोनाबाट प्रशिक्षण र खेलाडी प्रभावित बने । अब दर्शक विहिन तरिकाले प्रतियोगिता सञ्चालन गर्ने तयारी छ ।
पहिलो संस्करणको प्रतियोगिता भएका कारण कुनै टिमले एक अर्काबारे जान्ने मौका पाएका छैनन् । अन्य टोलीको प्रर्दशन हेरेर रणनीति बनाउने धनगढी बताउँछ । उसले आईतबार विराटनगर सिटी एफसीसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
‘सहभागी टोलीको तयारी कस्तो छ र उनीहरुको खेल कस्तो हो, त्यो पत्ता लाग्न समय लाग्छ । केहि चुनौती अझै छन् । सोही अनुसार रणनीति तयार गर्ने हो ।’ प्रशिक्षक राई भन्छन् ।
रार्ईले हरेक क्षेत्र अब्बल रहेको र त्यसलाई मैदानमा प्रस्तुत गर्दै उपाधिकै लागि आफ्नो टोली मैदानमा उत्रने बताउँछन् । ‘हरेक टोलीको लक्ष्यनै उपाधि हुन्छ । हाम्रो पनि त्यही हो । खेलाडी फिट छन् । हरेक पोजिसनमा राम्रा खेलाडी छन् । उपाधिका लागि खेल्छौं ।’ पूर्व राष्ट्रिय टोलीका सदस्य राई भन्छन् ।
धनगढीमा हाल राष्ट्रिय टोलीका ५ खेलाडी रहनेछन् । कप्तान किरण लिम्बुले धनगढीको कप्तानीसंगै गोलपोष्ट पनि समाल्नेछन् । जावलाखेलबाट खेल्दै आएका टेकेन्द्र थापा समेत टोलीमा रहनेछन् । रक्षापंक्तिमै राष्ट्रिय टोलीका दिनेश राजबंशी र निशान खड्का रहेनछन् । आर्मीका युद्ध शाही, टंक बस्नेत र विवेक बस्नेतले धनगढीलाई अझै बलियो बनाउनेछन् । राष्ट्रिय टोलीका प्लेमेकर विशाल राईसँगै स्ट्राइकर दर्शक गुरुङको उपस्थितीले धनगढीलाई थप मजबुद बनाएको छ ।
तीन विदेशी खेलाडीमा किरण आईकोनिक बनेर प्रवेश गर्दा स्ट्राइकर आफिज ओलावाले र एर्नेष्ट टेम्पीमात्रै रहनेछन् । आफिज घरेलु फुटबलका अहिलेसम्मकै उत्कृष्ट विदेशी खेलाडी मानिन्छन् । टेम्पीले समेत पछिल्लो सिजन घरेलु फुटबलमा राम्रो छाप छाडेका थिए । स्थानीय दुई खेलाडीमा निशान सुनार र कार्लाेस बखरीया रहनेछन् ।
धनगढीकाे टिम :
गोलरक्षक : किरण कुमार लिम्बु (कप्तान तथा आईकोनिक) , टेकेन्द्र थापा
डिफेण्डर : दिनेश राजबंशी, निशान खड्का, युद्ध शाही, अशोक खवास, टेम्पी एर्नेष्ट (विदेशी)
मिडफिल्डर : विशाल राई (मार्की), पुजन उपरकोटी, रुपेश केसी, निराजन महर्जन, विवेक बस्नेत, टंक बस्नेत, विजय श्रेष्ठ, निशान सुनार, कार्लाेस बखरीया
स्ट्राइकर : दर्शन गुरुङ, सौजन राई, योगेश गुरुङ, आफिज ओलावाले
याे पनि, एनएसएल – आत्मविश्वासी ललितपुर एफसी
एनएसएल – काठमाडौं रेजर्सलाई बालगोपालको भर