एनएसएल – काठमाडौं रेजर्सलाई बालगोपालको भर

काठमाडौं । पछिल्लो महिना बालगोपाल विवाद र चर्चाको केन्द्रमा रहे । राष्टिय टिमको जिम्मेवारीमा रहेका उनी फ्रेन्चाईज टिमसंग जोडिए ।
सार्वजनिक रुपमा उनको धेरै आलोचना पनि भयो । हुन त बालगोपाल शान्त र नम्र स्वभावकै छन् । जब पत्रकार सम्मेलनमा भेटिन्छन्, अलि हतास र आक्रमण शैलीमा देखिन्छन् । त्यसैलेपनि होला, उनको आलोचनाको पारो बढ्ने गर्छ ।
तर बिर्सन नहुने तथ्य भनेको उनी जत्तिका सफल खेलाडी घरेलु फुटबलमा कोही छैनन् । खेलाडी र प्रशिक्षकका रुपमा उनले सबै चिज पाएका छन् । उमेर समुह हुँदै राष्टिय टिमबाट देशका लागि थुप्रै उपाधि जिताएका छन् । खेलाडीको रुपमा समेत देशका लागि स्वर्ण जितेका छन् । उनी जति खेलाडी र नेपाली फुटबललाई आखिर कसले पो बुझेको होला र ?
शनिबार घरेलु खेलकुदमा फ्रेन्चाईज फुटबल सुरु हुँदै गर्दा काठमाडौं रेजर्स बालगोपालमै धेरै निर्भर हुनेछ । अघिल्लो महिना नेपालले काठमाडौंमै भएको थ्री नेसन्स कप जित्यो । त्यसको नेतृत्व बालगोपालले गरेका थिए । त्यसमा दुई खेलाडी उम्दै चम्किए, सन्जोक राई र तेज तामाङ । दुवै खेलाडी काठमाडौं टिमका हुन् । हुन त नेपाली फुटबलको केन्द्र भनेकै काठमाडौं जस्तो देखिन्छ । अब फ्रेन्चाईजमा फुटबलमा काठमाडौंको प्रतिनिधित्व काठमाडौं रेजर्सले गर्नेछ ।
पहिलो संस्करणको एनएसएलमा धेरै क्लबले एउटै समस्या ब्यहोरे । प्राय सबै टिमले राम्रो तयारी गर्न पाएनन् । खेलाडी समयमा उपलब्ध भएनन् । विदेशी खेलाडी पनि समयमा आएनन् । विभिन्न क्लबमा आबद्ध भएका कारण खेलाडीहरु मोफसलका प्रतियोगितामा पनि ब्यस्त रहे । त्यही समस्या काठमाडौं रेजर्सले समेत ब्यहोर्यो ।
‘तयारी सबै टिमको उस्तै छ । धेरै समय पाईएन । धेरै खेलाडी क्लबमा आबद्ध छन् । मोफसलमा खेलेका कारण तयारीको खासै समय पाईएन ।’ उनले भने ।
महर्जनले टिममा धेरै विभागीय टिमका खेलाडी भएकाले पनि ढिलै मात्र टोलीमा सामेल भएको बताए ।
‘टिममा तीन विभागका ८ जना खेलाडी छन् । कोभिड एक जना ढिलैमात्र आईपुगे । विदेशी खेलाडी पनि ढिला मात्र आईपुगे । तर टिमको अवस्था सन्तोषजनकनै छ ।’ उनले थपे ।
प्रशिक्षक महर्जनले टिम सन्तुलित भएका कारण युवा खेलाडीबाट राम्रो आश गरेको बताए । उनले टिमको बनोटबाट आफु सन्तुष्ट रहेको उल्लेख गरे ।
‘टिम सन्तुलित छ । नराम्रो छैन । टिममा युवा खेलाडी छन् । म सन्तुष्ट छु ।’ उनले भने ।
विकेश कुथु मार्की खेलाडी रहेको टिममा सन्जोक राई र तेज तामाङबाट महर्जनले ठुलो आश गरेका छन् । अधिकांश ए डिभिजन लिगका खेलाडी भएका कारण समेत प्रतियोगितामा राम्रै चुनौती पेश गर्ने महर्जन बताउँछन् ।