पिटर ललितपुर सिटीमा आबद्ध
काठमाडौं । फ्रेन्चाईज फुटबल क्लब ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्धन गरेको छ ।
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि ललितपुरले नाईजेरियन डिफेन्डर सेगुनलाई टिममा आबद्ध गरेको हो ।
एनएसएल खेल्नका लागि सेगुन बिहिबारमात्र काठमाडौं आईपुगेका छन् । त्रिभुवन विमानस्थलका क्लबका अधिकारीले उनलाई स्वागत गरेका थिए ।
सेगुनले एनएसएलका लागि पुन नेपाल आउन पाउँदा खुसी लागेको बताए । उनले फ्रेन्चाईज फुटबलका लागि आफु उत्साहीत रहेको बताए ।
सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । मछिन्द्रलाई लिग च्याम्पियन बनाउन सेगुनले महत्वपुर्ण योगदान गरेका थिए ।
सेगुनले थ्री स्टारबाट समेत लिग उपाधि जितेका छन् । सेगुन घरेलु फुटबलमा डिफेन्स लाईनका प्रभावशाली खेलाडी मानिन्छन् ।
भाटभटेनी सुपर मार्केटको स्वामित्व रहेको ललितपुर सिटी एफसीले यसअघि क्रोएसियाका फरवार्ड भिलिम पोनिस्कोभिक र अजरबैजानका फरवार्ड नुर्लान जाहिद नोभ्रुजोभलाई टिममा आबद्ध गरेको थियो ।
अन्जन विष्ट ललितपुर सिटी एफसीका मार्की खेलाडी हुन् ।