एनएसएल – आत्मविश्वासी ललितपुर एफसी

काठमाडौं । फुटबलसंग भाटभटेनी ग्रुपको आबद्धता नयाँ हैन । ए डिभिजन लिगमा मछिन्द्र क्लबमार्फत भाटभटेनी फुटबलसंग आबद्ध हुँदै आएको थियो ।
जब फुटबलको फ्रेन्चाईजको प्रशंग निस्कियो । भाटभटेनीले समेत टिम किन्नका लागि जोड गर्यो । र प्राप्त गर्यो, ललितपुर सिटी एफसी ।
ललितपुर घरेलु फुटबलको उर्वर जिल्ला हो । शीर्ष डिजिभनको ६ क्लब ललितपुरकै छन् । त्यसमा एक फ्रेन्चाईज टिम पनि थपिएको छ । नाम ललितपुर सिटी एफसी रहेको छ ।
ब्यापारसंगै खेलकुदमा पाईला चालेको भाटभटेनी पहिलो संस्करणको एनएसएललाई लिएर निकै उत्साहीत छ । त्यसकै लागि उसले युरोपका उत्कृष्ट लिग खेल्ने विदेशी खेलाडीलाई टिममा आबद्ध गरेको हो । र अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा एनएसएल उतार्नेछ ।
ललितपुर एनएसएलको उद्घाटन खेलमै काठमाडौं रेजर्ससंग खैल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । उपत्यकामा देखिने फुटबल मैदानको अभाव ललितपुर सिटी एफसीले समेत ब्यहोर्यो । मैदान अभावकै कारण ललितपुरले नियमित प्रशिक्षण गर्न पाएन । तर खेलाडीबीचको विश्वासले एनएसएलमा राम्रो नतिजा निकाल्ने ललितपुरको विश्वास छ ।
‘मैदानको समस्या भयो । मैदान उपलब्ध नभएका कारण विभिन्न ठाउँमा गएर प्रशिक्षण गर्यौ ।’ प्रशिक्षक प्रदीप हुमागाँईले खेलपाटीसंग भने, ‘यसको कारण आफ्नै मैदान नहुनु हो । त्यसमा पनि कहिले पानी पर्ने, कहिले मैदान साह्रो हुने भएकाले समस्या भयो ।’
ललितपुरले पछिल्ला दश दिनमा जावलाखेलको मैदान, सेन्टजेभियर्स, संकटाको मैदान, पोखरा र बुद्धी विकासमा रहेको मैदानमा प्रशिक्षण गरेको थियो । प्रशिक्षक हुमाँगाईले मैदानका लागि धेरै ठाउँमा प्रस्ताव गरे पनि सहजै उपलब्ध हुन नसकेको बताए ।
प्रशिक्षक हुमागाँईले टोलीको तयारी सामान्य रहेको बताए । उनले टोलीमा चोटको समस्या धेरै रहेको उल्लेख गर्दै त्यसको असर तयारीमा परेको बताए ।
‘तयारी सामान्य छ । भब्य पनि छैन ।’ उनले भने, ‘खेलाडीको चोटको समस्याले सबै खेलाडीलाई एकै ठाउँमा राखेर प्रशिक्षण गर्न पाएका छैनौं ।’
उनले प्रशिक्षणमा समस्या भएपनि सबै खेलाडी सकरात्मक नतिजाका लागि तयार रहेको बताए । खेलाडीले एक अर्कामा विश्वास गरेकाले राम्रो नतिजा निकाल्न टोली तयार रहेको बताए । एक अर्काप्रतिको विश्वासनै टिमको बलियो पक्ष रहेको उनले बताए ।
‘सबै खेलाडीले एक अर्कोलाई विश्वास गरेको छ । खेलाडी स्वयममा पनि आत्मविश्वास धेरै छ । टिम गेम हो । यसैले हामी लिगमा राम्रो गर्छौ भन्ने विश्वास छ ।’ उनले भने ।
हुमागाईले ललितपुरको सबै पक्ष बराबर रहेको बताए । उनले खेल अघिनै टिमको कुनै एउटा पोजिसनलाई मात्र राम्रो भन्न नसकिने बताए ।
‘टिमको सबै पोजिसन बराबर छ । एउटै स्तरको सन्तुलित टिम हो । अब विपक्षी टिमसँग खेल्यौ भने कुन पोजिनस राम्रो भन्ने अझ प्रष्ट हुन्छ ।’ उनले भने, ‘विदेशी खेलाडी पनि राम्रा छन् । उनीहरुको नेपाली खेलाडीसँगको बुझाई पनि राम्रो छ । सकारात्मक नतिजाको अपेक्षा छ ।’