एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएका अध्यक्ष एलेक्स्जेन्डर सेफरिनले युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिता खेल्ने खेलाडीलाई विश्वकप र युरो कपमा प्रतिबन्ध गरिने बताएका छन् ।
युरोपका १२ क्लबले आइतबार आफ्नो नतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।
नयाँ प्रतियोगिताको घोषणापछि अध्यक्ष सेफरिनले उक्त प्रतियोगिता बकवास रहेको र प्रतियोगिता खेल्ने खेलाडीलाई विश्वकप र युरो कपमा प्रतिबन्ध लगाउने बताएका हुन् ।
'हामी यस बकवास परियोजनाविरुद्ध एकजुट छौं । फुटबलको विरुद्ध रहेको योजनालाई हामी अनुमति दिदैनौं,' अध्यक्ष सेफरिनले भनेका छन्, 'यस लिगमा खेल्ने टिम र खेलाडीहरू विश्वकप र यूरोमा प्रतिबन्धित हुनेछन् ।'
नयाँ प्रतियोगिताको संस्थापक क्लबमा इंग्ल्यान्डको प्रिमियर लिगका सर्वाधिक ६ क्लब रहेका छन्। प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् ।
स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् ।
यस्तै अध्यक्ष सेफरिनले यस योजनाले समाज र फुटबल समर्थकलाई थुकेको समेत बताए ।
'यस विचारले सबै फुटबल प्रेमीहरू र हाम्रो समाजको अनुहारमा थुकेको छ । हामी तिनीहरूलाई अनुमति दिदैनौं,' उनले भने ।
रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा गठित ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने बताईएको छ ।
लिगका खेलहरु मध्येसातामा हुनेछ । जसको कारण घरेलु लिगमा असर नगर्ने बताईएको छ ।
यस्तै ईएसएलले महिलाको प्रतियोगिताको योजना समेत अघि बढाईएको जनाएको छ ।