काठमाडौं । चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजलाई जित दिलाउन रिजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्यामु मुर्मुले एक गोल फर्काए ।
रिजनको २० औं मिनेटमा गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सोमले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
पहिलो हाफको इन्जुरी समयमा झापाका श्यामुले एक गोल फर्काएपनि चर्च २-१ ले विजयी भयो ।
उपाधिसँगै चर्च ब्वाइज 'बी' डिभिजन लिगमा बढुवा समेत भएको छ । चर्चले १० लाख नगद समेत प्राप्त गर्यो ।
'सी' लिगमा बढुवा भएको एक वर्ष नपुग्दै चर्च ब्वाइज 'बी' लिगमा बढुवा भएको हो ।
चर्चले उपाधि जित्ने क्रममा १० अंक जोड्यो ।
यस्तै विरगंज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि 'बी' लिगमा बढुवा भएको छ ।
खालीबारी युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै विरगंज बढुवा भएको हो । विरगंज 'सी' मा बढुवा भएको एकै वर्षमा 'बी' लिगमा उक्लिएको हो ।
सामाजिक भने २ वर्षपछि 'बी' लिगमा बढुवा भएको हो । सामाजिकले अन्तिम लिग खेलमा विरगंज युथ एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्यो ।
दोस्रो भएको विरगंजले ७ लाख र तेस्रो भएको सामाजिकले ४ लाख प्राप्त गरेको छ ।
सानोगौचरण युवा क्लब 'सी' डिभिजनबाट घटुवा भएको छ ।