काठमाडौ । राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय बिकेश कुथु र जर्ज प्रिन्स कार्कीले एएफसी कप अन्तर्गत भारतीय टिम बैंगलुरु एफसीबिरुद्ध नखेल्ने भएका छन् ।
नेपाल आर्मी क्लबले बैशाख १ गते एएफसी छनोटको दोस्रो चरणको छनोटमा भारतीय सुपर लिग च्याम्पियन बैंगलुरु एफसीसंग खेल्दैछ ।
सोही खेलका लागि आर्मी भोली (आइतबार) भारतको गोवा जाने कार्यक्रम रहेको छ ।
यसअघि बिहिवार घरेलु मैदानमा आर्मीले श्रीलंकन लिग च्याम्पियन श्रीलंकन पुलिसलाई ५–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरण पार गरेको थियो ।
भरत खवासको कप्तानीमा रहेको आर्मीको जितमा नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, सुदिल राई र टंक बस्नेतले एक एक गोल गरेका थिए ।
श्रीलंकन पुलिसको लागि इभान्सले गोल गर्दै अग्रता बनाएका थिए ।
यसअघि पहिलो चरणको अन्तिम समयमा आएर गोलरक्षक बिकेश र स्ट्राइकर जर्ज प्रिन्सले प्रतियोगिता खेल्न पाएका थिएनन् । दुबै खेलाडीलाई कोरोना भएको आशंका गरिएको छ । हाल दुबै खेलाडी आर्मीको टिम बाहिर रहेका छन् ।
क्लब स्रोतका अनुसार आर्मी टिम भोली भारत प्रस्थान गर्ने र दुई खेलाडी टिममा समावेश नहुने बताईएको छ ।
'भोली दिल्ली हुँदै गोवा पुग्ने कार्यक्रम रहेको छ ।' क्लब श्रोतले भन्यो ।
'हामीसंग यसअघिको टोलीनै रहने छ । कुनै परिवर्तन छैन । दुई खेलाडी (जर्ज, बिकेश) टिममा रहदैनन् ।' श्रोतले भन्यो ।
गोवा पुगेसंगै टोलीको पीसीआर परिक्षण हुनेछ । नतिजा अनुकुल आएको खण्डमा टोलीले आफ्नो तयारी अघि बढाउनेछ ।
भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेलमा स्थान बनाउनेछ ।
प्ले अफको विजेताले समूह चरणको समूह ’डी’ स्थान बनाउने छन् । समूह ’डी’ मा भारतको मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।
आर्मी नेपालको लिग च्याम्पियनको रुपमा प्रतियोगितामा समावेश छ ।
एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो ।
गत सिजनको ’ए’ डिभिजन लिगको विजेता मछिन्द्र क्लब रहेपनि एएफसी क्लब लाईसेन्स नहुँदा उपविजेता आर्मी प्रतियोगितामा समावेश भएको हो ।