एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (शनिबार) तीन ठुला खेल हुँदैछ ।
पहिलो खेलमा म्यान्चेष्टर सिटी र लिड्स युनाईटेड, दोस्रो खेलमा लिभरपुल र एस्टन भिल्ला तथा तेस्रो खेलमा क्रिस्टल प्यालेस र चेल्सीबीच प्रतिस्पर्धा हुदैछ ।
ईतिहादमा लिड्सलाई आतिथ्यता प्रदान गर्दै गर्दा सिटीका दुई मुख्य खेलाडी खेल्ने-नखेल्नेमा दुविधा छ । प्रशिक्षक पेप ग्वार्डिओलाले नाम नखुलाएपनि फिटनेसका कारण दुई खेलाडी खेल्ने सम्भावना कम रहेको बताएका छन् ।
केभिन डी ब्रोएन सिटीलाई उपलब्ध हुनेछन् । उनले भर्खरै सिटीसंगको सम्झौता दुई वर्ष थप गरेका छन् । लिड्स युनाईटेड विङ्गर ज्याक हेरिसन बिनै मैदान उत्रनेछ । एडम फोरसालाई चोटका कारण लिड्सले गुमाउनेछ तर क्लबलाई थप अन्य समस्या भने छैन।
लिगको शीर्ष स्थानको सिटीलाई घरेलु मैदानमा जित निकाल्दै तालिकामा १७ अंकको अग्रता लिने अवसर छ । सिटी शहरी प्रतिद्धन्दी म्यान्चेष्टर युनाईटेड भन्दा १४ अंकले अघि छ ।
दोस्रो खेलमा खराब लयबाट गुज्रिरहेको लिभरपुलले एस्टनभिल्लालाई एनफिल्डमा आतिथ्यता दिनेछ । प्रशिक्षक योर्गेन क्लोपलाई चोटको नयाँ समस्या छैन । तर टिम माथि उठ्न सकेको छैन । जोए गोमेज, जोर्डन हेन्डरसन, जोयल माटिप, भर्जिल भान डिजिक र डिभोक आरिजी सबै टिम बाहिर छन् । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने योजनामा रहेका छन् ।
शनिबारको अन्तिम खेलमा चेल्सी क्लब क्रिस्टल प्यालेसको भ्रमणमा निस्कनेछ । पछिल्लो खेलमा वेस्ट ब्रोमसंगको ५–२ को नमिठो हारबाट लण्डन क्लब माथि उठ्न चाहन्छ ।
चेल्सी प्रशिक्षक थोमस टुचेलसंग चोटका नयाँ समस्या छैन । तर थिएगो सिल्भा प्रतिबन्धका कारण खेल्न पाउने छैनन् । यता, क्रिस्टल प्यालेसले चेल्सीका लोनका फरवार्ड मिची बात्सुईलाई शनिबारको खेलमा उतार्न पाउने छैन ।