काठमाडौं । आहा रारा गोल्डकपको १९ औं संस्करणको फाईनल खेल्दैछन्, संकटा र अफ्रिकन रुट्स । दुवै टोली पहिलो पटक फाईनल पुगेका हुन् ।
आहा रारा गोल्डकपमा गत वर्षको लिग विजेता मछिन्द्र सहित मनाङ मस्र्याङ्दी र थ्री स्टार समेत सहभागी भए । तर तीनै क्लब पहिलो खेलमै पराजित बन्न पुगे । राष्ट्रिय टिमका अधिकांश अनुहार समावेश भएको मछिन्द्र होस वा स्टार खेलाडीले भरिएका मनाङ र थ्री स्टार जस्ता हेभीवेट क्लब आहा रारामा पहिलो खेलमै स्तब्ध बने ।
ठुला भनिएका मनाङ, मछिन्द्र, थ्री स्टार र पुलिस क्लबले आहा रारामा राम्रो प्रर्दशन गर्न सकेनन् । काठमाडौंका ठुला क्लबले नाम चलेकै खेलाडी अनुबन्धन गरेर मोफसलमा उतारेका थिए । तर नतिजा ठिक उल्टो आयो । ठुला क्लब र खेलाडीले नतिजा निकाल्न सकेनन् ।
यसवर्ष थ्रीस्टारले चौथो संस्करणको बागमती कपको उपाधि उचाल्यो । फाइनलमा अफ्रिकन रुट्स एसोसियसनलाई ३–२ ले पराजित गर्दै थ्री स्टारले उपाधि जित्न सफल भयो । उपाधि जितेसँगै टोलीले भोलिपल्टै आहा रारा गोल्डकप खेल्यो । थ्री स्टार विभागीय नेपाल पुलिससँग ४–० गोल अन्तरले पराजित भयो ।
यता, पहिलो खेलमा थ्रीस्टारलाई पराजित गरेको पुलिस आफ्नो दोस्रो खेलमा बिहिबार अफ्रिकन रुट्ससँग २–० गोल अन्तरले पराजित भयो । त्यसअघि पुलिस मकवानपुर गोल्डकपको पहिलो खेलमै संकटा क्लबसँग १–० गोल अन्तरले हारेको थियो ।
कोरोना कहरपछि पहिलो पटक मोफसलको प्रतियोगितामा उत्रिएको मनाङ समेत आहा रारा गोल्डकपको पहिलो खेलमै पराजित भयो । राष्ट्रिय टिमका केही सदस्य र बन्द प्रशिक्षणका रहेका राम्रा खेलाडीलाई समावेश गर्दै मनाङ पोखरामा उत्रिएको थियो । तर नयाँ कार्यसमितिको टिमलाई पहिलो खेलमै ढुङ्गा लाग्यो ।
यता, ए डिभिजन च्याम्पियन मछिन्द्र समेत पहिलो खेलमै पराजित हुन पुग्यो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी बटुलेको मछिन्द्र पहिलो खेलमै चुक्यो । लिग च्याम्पियन मछिन्द्र संकटासँग १–० गोल अन्तरले पराजित भयो ।
खेलाडीको प्रर्दशनमै क्लबको नतिजा निर्भर रहन्छ । थोरै समयमा बनाएको टोलीबीच राम्रो तयारी नहुदाँ र तालमेल नमिल्दा नतिजा फरक आएको क्लबका अधिकारीहरु बताउँछन् ।
मछिन्द्र क्लबका ब्यवस्थापक अनिल श्रेष्ठ नेपाल सुपर लिगका लागि खेलाडी जोगिएर खेल्दा आहा रारा गोल्डकपमा क्लबको नतिजा नआएको बताउँछन् ।
‘नजिकै रहेको एनएसएलका कारण खेलाडीले सोचे अनुसार खेल्न सकेनन् । अलि बचेर खेलको जस्तो देखिन्छ । उनिहरुले खेल्नुपर्ने खेल खेलेका देख्दैनौं ।’ श्रेष्ठले भने ।
एनएसएलकै लागि हाल सहभागी टोलीले पोखरा र काठमाडौमा तयारी अघि बढाएका छन् । केही समय अघिमात्रै मोफसलमा ए डिभिजन क्लबबाट खेलिरहेका खेलाडी फ्रेन्चाईज टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् ।
जसका कारण मोफसलको गोल्डकप खेल्न नाम दिएका क्लबले नाम फिर्ता लिन थालेका छन् । कोही भने स्थानीय र बी डिभिजन सहित लिलामीमा नबिकेका खेलाडी बोकेर मोफसलमा जाने तयारी गरेका छन् ।
खेलाडी भने आफ्नो कर्तब्य नै खेल्ने भएकाले एनएसएलका लागि जोगिएर नखेलेको बताउँछन् । उनीहरु क्लबको तयारी कम भएकाले तालमेल नमिलेको प्रष्टिकरण दिन्छन् ।
‘हामीले राष्ट्रिय टोलीबाट निस्किएपछि एकै पटक मोफसलमा खेल्न गयौं । तयारीनै हुन पाएन । कारण नतिजामा देखियो । पक्कै क्लबमा लामो तयारी गर्न पाएको भए यस्ता नतिजा हुदैन थियो ।’ थ्री स्टारबाट ब्यवसायिक फुटबल खेल्दै आएका अनन्त तामाङ भन्छन् ।
उनले भने चोटकै कारण एनएसएलमा दबाब नलिने र फिफा विश्वकपका लागि फिट हुने भन्दै अक्सनबाट नाम फिर्ता लिएका थिए ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा राष्ट्रिय टिमको प्रर्दशन लगत्तै खेलाडीहरु मोफसल खेल्न पुगेकै कारण प्रदर्शन र नतिजामा केही फरक परेको बताउँछन् ।
‘थ्री नेसन्स कप लगत्तै खेलाडी मोफसल लागे ।’ उनले भने, ‘क्लबसँग तयारी राम्रो हुन पाएन । त्यसैले तालमेल अभाव देखियो । यद्यपि खेलाडीको प्रदर्शन हेर्दा एनएसएलका कारण उनीहरुले आफ्नो शत प्रतिशत दिन सकेका छैनन् । एनएसएलले मोफसलमा ठुला क्लबलाई प्रत्यक्ष असर गरेको छ ।’