एजेन्सी। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरेको छ ।
फिफाले बुधबार पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरिएको जनाएको छ ।
पाकिस्तान फुटबल फेडेरेसनले फिफाको नियम उलंघन गरेको कारण तत्कालबाट लागु हुने गरि निलम्बन गरिएको जनाएको छ ।
पाकिस्तान फुटबल फेडेरेसन पछिल्लो समय आन्तरिक विवादमा फसेको छ । जसको कारण फिफाले नर्मलाइजेसन समिति बनाएको थियो ।
सैयद असफका हुसेन शाहको नेतृत्वमा रहेको निर्वाचित समिति विवादित बनेपछि फिफाले २ वर्षअघि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो ।
उक्त समितिले नयाँ निर्वाचन भने गराउन सकेको थिएन् । तर, पाकिस्तानको फुटबल गतिविधि भने संचालन गरिरहेको थियो ।
हालै महिला लिगको दौरान पुन: संघमा विवाद आएको थियो । हुसेनको नेतृत्वमा रहेको समितिले पाकिस्तान फुटबलक मुख्यालय समेत कब्जा गरेको थियो । जसको कारण लिग रद्द भएको थियो ।
फिफाले पाकिस्तानसँगै अफ्रिकन राष्ट्र चाड फुटबल फेडेरेसनलाई समेत निलम्बन गरिएको जनाएको छ ।