काठमाडौं । उपत्यकामा केन्द्रित नेपाली फुटबलमा अधिकांस क्लबहरु उपत्यकाकै छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने लिगहरुमा उपत्यकाकै क्लबहरुको वर्चस्व रहने गरेको पाइन्छ ।
नेपाली फुटबलको शीर्ष लिग सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहेको छ । त्यस्तै ‘बी’ डिभिजनमा १२ र ‘सी’ डिभिजनमा १४ क्लब छन् । ‘ए’ र ‘बी’ डिभिजन लिग खेल्ने सबै क्लब उपत्यकाकै हुन् । ‘सी’ डिभिजनमा पनि उपत्यकाकै क्लबको वर्चस्व छ ।
‘सी’ डिभिजन खेल्ने विरगंज युनाइटेड, विरगंज युथ एकेडेमी र झापा एफसी गरी तीन क्लब बाहेक सबै अन्य क्लब उपत्यकाकै हुन् । तर, उपत्यकाका क्लबले खेलाडी उत्पादन भने गर्न सकेका छैनन् ।
पछिल्लो समय क्लबहरुले स्थानीय खेलाडी पाउँन मुस्किल भएको आरसीटीका क्लबका अध्यक्ष सुरेशकाजी शाक्यले बताए ।
‘अहिले काठमाडौंमा खेल मैदान नै छैन । पहिले–पहिले टुडिखेल हाम्रो फुटबल खेल्ने थलो हो । तर, अहिते त्यो अवस्था रहेन,’ आरसीटीका अध्यक्ष शाक्यले भने, ‘खेल मैदान नहुँदा पछिल्लो समय उपत्यकाका कुनै पनि क्लबले स्थानीय खेलाडी उत्पादन गर्न सकेका छैनन् । लिग खेल्ने हरेक क्लबमा हेर्नुस्, बढीमा दुई जना खेलाडी उपत्यकाका होलान् । त्यो पनि बेन्चमै सिमित ।’
उनले पछिल्लो समय उपत्यकाका नाममा क्लबको संख्या मात्र रहेको बताए । क्लबको नाम मात्र जोगाउन तिर लागेकाले क्लबले खेलाडी उत्पादन गर्न नसकेको उनको गुनासो छ । क्लबका अध्यक्ष शाक्यले आफ्नै उत्पादन र स्थानिय खेलाडी नहुँदा क्लबहरुले खेलाडी अनुबन्ध गर्दा पूर्व–पश्चिम दौडिनु परिरहेको सुनाए ।
‘नेपाली फुटबलको सुरुवात हुँदा क्लबमा उपत्यकाका खेलाडीको वर्चस्व रहने गरेको पाइन्थ्यो । तर, अहिले लिग खेल्ने क्लबहरुमा उपत्यकाका खेलाडी देख्न मुस्किल जस्तै छ,’ उनले भने, ‘जसको उदाहरणका लागि हाम्रो क्लब आरसीटी क्लबको इतिहासलाई पल्टाउन सकिन्छ । हामीसँग स्थानीय खेलाडी धेरै भएर तीन टिम बनाएर खेल्ने गर्दथ्यौ ।’
बिस २०३० देखि २०४० को दशकमा आरसीटीसँग चार टिम रहेका थिए । टिम ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार टिमले नेपालमा आयोजना हुने विभिन्न लिगहरुमा आरसीटीको सहभागिता रहने गर्दथ्यो ।
आरसीटीमा रहेका सबैभन्दा उत्कृष्ट खेलाडी टिम ‘ए’बाट एक डिभिजन लिग खेल्ने गर्दथ्यो । त्यस्तै क्रमशः खेलाडीको स्तर अनुसार ‘बी’ र ‘सी’ लिगमा आरसीटीको प्रतिस्पर्धा रहेको थियो । टिम ‘डी’ ले भने स्थानिय नकआउट कप प्रतियोगिता खेल्ने गर्थ्यो । तर, अहिले आरसीटीले स्वयमले नै ‘बी’ डिभिजन लिग खेल्ने एक टिम पुर्याउन खेलाडीको खोजीमा पूर्व–पश्चिम दौडीनु परेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
‘अहिले बालबालिकाहरु स्कुलबाट फर्किन्छन् । आफ्नो गृहकार्य तिर व्यस्त रहन्छन् । उनीहरु खेल मैदान नभएका कारण खेल तिर लाग्न सकिरहेका छैनन्,’ उनले भने, ‘आफ्ना स्थानीय खेलाडी नभएपछि उपत्यकाका सबै क्लबहरु खेलाडी खोज्न पूर्व–पश्चिम दौडिन्छन् । अहिलेसम्म ९० प्रतिशत खेलाडी खोजेरै सबै क्लबले आफ्नो क्लबमा अनुबन्ध गरिरहेका हुन्छन् । जसले गर्दा उपत्यकामा क्लब मात्रै छन् । त्यो पुरानो फुटबलको रौनक छैन।’

पछिल्लो समय क्लबहरुले खेलाडी खोज्न पूर्व–पश्चिम दौडिनु पर्ने भएकाले आफ्नै खेल मैदान बनाउन अति आवश्यक रहेको आरसीटीका सदस्य नरेश बैद्यले बताए । उनले क्लबले आफ्नै खेल मैदान बनाउन सके स्थानिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए ।
उनले इतिहासले मात्र अब फुटबल नचल्ने दाबी गरे । पुर्खाको गुणले मात्र दुई–चार घरबाट खेलाडी निस्कदैमा राम्रो स्थानीय खेलाडी हुन नसक्ने उनको भनाइ छ ।
नेपाली फुटबलको इतिहास हेर्दा समेत उपत्यकाका फुटबल खेलाडीको वर्चस्व घट्दै गएको पाइन्छ । राष्ट्रिय टोलीले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता थ्री नेशन्स कप फुटबलमा पनि उपत्यकका एक मात्र खेलाडी विराज महर्जन रहेका थिए । उनले पनि सोही प्रतियोगिताबाट सन्यास लिए ।
नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको चार दशकसम्म पुग्दा उपत्यकाको फुटबल फेरीएको पाइन्छन् । सन् १९७२ मा नेपालले पहिलोपटक चीनसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई आधिकारिक खेल नमानिए पनि सोही खेलमा उपत्यकाका खेलाडीको बाहुल्यता रहेको थियो ।
सन् १९८२ मा पाकिस्तानसँग कराँचीमा खेलेको एसियन गेम्स छनोट नै नेपालको पहिलो अन्तर्राष्ट्रिय आधिकारिक खेल हो । त्यसयता नेपालले हालसम्म विभिन्न देशसँग विभिन्न प्रतियोगितादेखि मैत्रीपूर्ण खेललगायतका खेलहरु खेल्दै आएको छ ।
१९८२ देखि नेपालले खेलेको छैटौं दक्षिण एसियाली खेलकुद (साग) सम्म फुटबल टोलीमा उपत्यका खेलाडी रहेका थिए । तर, घरेलु भूमिमा आयोजना भएको १३ औं सागसम्म आईपुग्दा त्यो अवस्था भने फेरीएको छ ।

१९९३ मा नेपाली फुटबल टोलीले साग जित्दाका एक सदस्य कुमारराज भण्डारीले विगत सम्झदै भने, ‘त्यतिबेला फुटबल मात्र हैन । अन्य खेलमा पनि उपत्पकाकै खेलाडीहरु धेरै हुन्थ्ये । तर, अहिले त्यसो भन्दा विश्वास गर्ने अवस्था छैन् । किनभने यतिबेला फुटबलमा पूर्वका खेलाडीहरुको बाहुल्यता छ ।’
उनले थपे, ‘हाम्रो समयमा उपत्यकाका धेरै जसो ठाउँदा खेल मैदान थिए । हामी स्कुल सकिएपछि खेल्नकै लागि भनेर टुडिखेल पुथ्यौ । त्यो समयमा आफुभन्दा सिनियर दाइहरुसँग फुटबल खेल्थ्यौ । हामी स्थानीय खेलाडी नै यति हुन्थ्यौ की किहिले कहीं तीन–चार टिम बनाउँदा समेत हामीले खेल्ने अवस पाउँदैन थियौ । तर, अहिले उपत्यकाको मात्र एक टिम बनाउने हो भने । युवा खेलाडी पुग्दैनन् ।’