धनगढी । धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा हुने भएको छ ।
महिला तथा पुरुषतर्फका दुबै फाईनल खेल शुक्रबार कालिका मन्दिरको खेल मैदानमा हुनेछ ।
महिला तर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १९ भिड्ने भएका छन् । पुरुष तर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर ७ प्रतिस्पर्धा गर्ने भएका छन् ।
फुलबारी स्थित डी गाउँको खेल मैदानमा भएको पुरुष तर्फको पहिलो सेमिफाईनलमा वडा नम्बर ७ ले वडा नम्बर १६ लाई ३–१ ले हरायो । दोस्रो सेमिफाईनल खेलमा भने वडा नम्बर १२ वाकओभर पाउँदै फाईनल पुग्यो ।
वडा नम्बर १४ मै रहेको फुलबारी स्थित खेल मैदानमै भएको दोस्रो सेमिफाईनलमा वडा नम्बर १४ र वडा नम्बर १२ बीचको खेल दर्शक मैदान प्रवेश गरी रेफ्रीमाथि हातपात गर्न खोजेपछि खेल रोकिएको थियो । त्यसपछि वडा नम्बर ७ को खेल मैदानमा खेल खेल्नका लागि वडा नम्बर १४ अनुपस्थित भएपछि वडा नम्बर १२ फाईनल पुगेको हो ।
फुलबारी स्थित खेल मैदानमा भएको महिला तर्फका दुबै सेमिफाईनलमा जित हात पार्दै वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्न यसअघि नै फाईनल पुगिसकेका छन् ।
प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक दिपेन्द्र सिंहले जानकारी दिए ।
उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।