शिवपुरी । अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शिवपुरी गाउँपालिका विजयी भएको छ ।
शिवपुरी गाउँपालिकाका वडा नं. ७ सुनखानीमा रहेको रंगशालामा भएको खेलमा शिवपुरी गाउँपालिकाले दुप्चेश्वर गाउँपालिकालाई ४–० ले पराजित गरेको हो । शिवपुरीका लागि खेलको १४ औं मिनेटमा मोहन गुरुङले पेनाल्टीमा पहिलो गोल गरे । दुप्चेश्वरका खेलाडीले डि एरियामा ह्यान्ड बल गरेपछि शिवपुरीले पेनाल्टीको अवसर पाएको थियो । त्यो अवसरलाई गुरुङले सदुपयोग गरे ।
खेलको दोस्रो गोल अनिस घर्ती क्षेत्रीले गरे । उनले खेलको ५१ औं मिनेटमा हेड मार्फत सुन्दर गोल गरे । त्यस्तै शिवपुरीका लागि खेलको ५८ औं मिनेटमा कुन्जल खड्काले गोल गरे । खेलको ६९ औं मिनेटमा क्षितिज जंग रुम्बाले गोल गर्दै शिवपुरीलाई ४–० को जित दिलाए । जितसँगै शिवपुरीले समूह ए को खेलमा ३ अंक जोडेको छ । आयोजकले राखेको नियमानुसार खेल ७० मिनेट खेलाइएको थियो ।
खेल सुरु हुनु अघि शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व सांसद डा. रामशरण महतले शिवपुरीमा अन्य क्षेत्रको विकाससँगै खेल क्षेत्रले पनि महत्वपूर्ण फड्को मारेको बताए । उनले यस्तो प्रतियोगिता आयोजना गर्नाले सबै स्थानीय तहबीच थप मैत्रीपूर्ण सम्बन्ध कायम हुने बताए ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले आफु जनप्रतिनिधि भएपछि शिवपुरीमा नै रंगशाला बनाउन प्राथमिकता दिएको बताए । उनले आगामी दिनमा रंगशाला अझ राम्रो बनाउने जिकिर गरे ।