पोखरा । दोश्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनशिपमा सहभागी खेलाडी पोखरा आइपुगेका छन् ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी शुक्रबार सुरु हुने प्रतियोगितामा सहभागी हुने खेलाडी पोखरा आईपुगेका हुन् ।
पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्ड हलमा दुई दिन सम्म चल्ने प्रतियोगिताको तयारीमा जुटेका खेलाडी काठमाडौबाट बुधबार पोखरा आईपुगेका हुन् ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले ४० बढी खेलाडी तथा अफिसियललाई स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा महानगर प्रमुख जिसीले सुन्दर नगरी पोखरामा खेलाडीलाई स्वागत गर्न पाउनु सुखद रहेको बताए । उनले पोखरा खेलकुदको हब रहेको उल्लेख गर्दै महानगर सबै वडामा खेलकुदको मैदान बनाउनुपर्नेमा जोड दिए ।
चैत २१ गतेसम्म आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगाएत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

संघकी महासचिव सुवर्ण श्रेष्ठले खेलाडीले ३ वटा वेट क्याटोगरीमा प्रतिष्पर्धा गर्ने जानकारी दिएकी छिन् ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले १ लाख सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा करिब २९ लाख खर्च हुने महासचिव श्रेष्ठले जानकारी दिएकी छिन् ।
प्रतियोगितामा सहभागी हुने दर्शकलाई थप मनोरञ्जन दिन चर्चित हास्य कलाकार सन्दिप क्षेत्री लगायतका कलाकारको विशेष प्रस्तुती राखिएको छ ।