काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले आफ्नो कप्तानीमा नेपाललाई साफ च्याम्पियनसिप जिताउने सपना भएको बताएका छन् ।
सोमबार थ्री नेसन्स फुटबलको उपाधि जितेपछि बोल्दै कप्तान किरणले साफ जिताउने सपना भएको बताएका हुन् ।
उपाधि जितेपछि पोस्ट म्याच कन्फरेन्स बोल्दै उनले भने, 'कप्तानको रुपमा यो पहिलो ट्रफी हो । म धेरै खुसी छु । समर्थकलाई धेरै धन्यवाद । हामीलाई उर्जा थपि दिनु भयो ।'
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनलमा बंगलादेशलाई २-१ ले हराउँदै नेपालले उपाधि जितेको थियो ।
'साफ च्याम्पियनसिप जित्ने सपना छ । हाम्रो टिम पहिलेको भन्दा फरक छ । युवा खेलाडीहरु राम्रा छन् । हामी साफ जित्न धेरै टाढा छैनौँ,' किरणले भने ।
कप्तान किरणले युवा खेलाडीलाई राम्रो बनाउन आफुले सक्दो सहयोग गर्ने समेत बताए ।
'हाम्रा नयाँ भाइहरुले राम्रो गरिरहेका छन् । उनीहरुले सक्ने गरेका छन् । टिमका युवा र सबैलाई सहयोग गर्दै लैजाने छु । साफ र एसियन गेम जित्ने लक्ष्य छ,' किरणले थपे ।
नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई 'बी' ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए ।