काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जित्नुको श्रेय खेलाडी र फुटबल समर्थकलाई जाने बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ ले हराउँदै नेपालले उपाधि जितेको थियो ।
उपाधि जितेपछि पोस्ट म्याच कन्फरेन्स बोल्दै महर्जनले उपाधिको श्रेय खेलाडी र समर्थकलाई जाने बताएका हुन् ।
'यो श्रेय सबै खेलाडी र समर्थकहरुलाई जान्छ । १०० दिनको तयारी र प्रतिक्षाको घडी थियो । हामी सफल भयौं,' महर्जनले भने ।
नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई 'बी' ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए ।
यस्तै महर्जनले फाइनलमा आफ्नो रणनीति सफल भएको बताए ।
'आजको खेलमा परिवर्तन हुन्छ भनेको थिए । रणनीति र खेलाडी परिवर्तन हुन्छ भनेको थिए । त्यो योजना सफल भयो । म खुसी छु । गौरवाम्बित छु, उनले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिमबीच प्रतिस्पर्धा भएको थियो ।