काठमाडौं । नेपाली फुटबलका सफल कप्तान हुन् विराज महर्जन । उनै सफल कप्तान विराजले सोमबार अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्धको खेलसँगै विराजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
बंगलादेशविरुद्ध खेलको ८९ औं मिनेटमा त्रिदेभ गुरुङको स्थानमा मैदान प्रवेश गरेका ३० बर्षिय विराजले घरेलु दर्शकमाझ अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । क्लब फुटबलमा भने उनलाई देख्न सकिनेछ ।
विगत एक वर्ष देखि अन्तराष्ट्रिय फुटबलबाट टाढा रहेका विराज यहि चाहन्थे । एन्फाले घरेलु दर्शक माझ सुखद् बिदाइ दिओस । उनले चाहे जस्तै थ्री नेसन्स कपको फाइनल खेल खेल्दै विराजले आफ्नो अन्तराष्ट्रिय फुटबललाई विश्राम दिए । बिदाइ खेलमा विराजले उपाधि समेत जिते ।
यस अघिका दुई खेल किर्गिस्तानको ओलम्पिक टोली (यू–२३) र बंगलादेशसँगको लिग चरणको खेलमा बेन्चमा बिताएका विराजलाई मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले दोस्रो हाफको मिनेटमा मैदान छिराएका थिए । यस अघिनै प्रशिक्षक महर्जनले बंगलादेशविरुद्ध विराजलाई मैदान पठाउन दुई पटक प्रयास गरे । पहिलो हाफ र दोस्रो हाफमा दुई पटक मैदान प्रवेश गर्नुअघि वार्म अपका लागि पठाएपनि महर्जनले बिना संकोच विराजलाई फाइलनमा मैदान पठाएका थिए ।
गत वर्ष मलेसियासँग उसैको मैदानमा ९० मिनेट बिताएका विराज त्यस यता भने राष्ट्रिय टोली बाहिर रहँदै आएका थिए ।
फाइनल अघि विराजले राष्ट्रिय टोलीबाट ७२ क्याप जित्दै १ गोल गरेका छन् । फाइलनमा ७३ क्याप पुरा गरेका विराज नेपालका लागि सर्बाधिक खेल खेल्ने खेलाडी समेत हुन् । उनले गत सागमा ६८ क्याप पुरा गर्दै पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको सर्बाधिक क्यापको किर्तिमानी भंग गरेका थिए ।
लेफ्ट ब्याक विराजले सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । त्यस यता उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् । उनले सन् २००९ मा दशरथ रंगशालामा किर्गिस्तानविरुद्ध फ्रिकिकमा गोल गरेका थिए ।
हाल घरेलु फुटबलमा मछिन्द्र फुटबल क्लबका लागि खेल्दै आएका उनले गत सिजनको लिगमा समेत मछिन्द्रलाई आफ्नो कप्तानीमा पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि दिलाएका थिए । यस अघि उनले मनाङ मर्स्याङ्दी क्लबलाई आफ्नै कप्तानीमा किर्तिमानी आठौं पटक र थ्रीस्टारलाई समेत लिगको उपाधि दिलाएका थिए ।
कुनै समय थियो । नेपाली फुटबलले अन्तराष्ट्रिय क्षेत्रमा उपाधि हात पार्नै सकेको थिएन । साग र साफ प्रतियोगिताबाट माथि उठ्न नसकेको नेपाली फुटबललाई बरदान सावित भए कप्तान विराज । उनको नेतृत्व सँगै नेपालले लगभग २३ बर्षपछि तिन मुख्य उपाधि हात पार्याे ।
नेपालले २३ व र्षपछि बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । सन् २०१६ मा बंगलादेशको ढाकामा भएको प्रतियोगितामा नेपालले विराजकै कप्तानीमा उपाधि जितेको थियो । लगत्तै सोहि वर्ष नेपालले मलेसियामा भएको सोलिडारिटी कप र भारतको गोवामा भएको १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेको थियो । तिनै खेलमा नेपालको कप्तानी विराजले गरेका थिए ।
नेपालले सागको मात्रै उपाधि हात पार्दै आएको थियो । सोहि कारणले पनि विराज नेपाली फुटबलको ईतिहासमा एक सफल कप्तानको रुपमा रहन्छन् र रहिरहनेछन् ।