१६५० मिटर उचाइमा फुटबल मैदानको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नं २० मौजामा समुद्री सतहबाट एक हजार ६५० मिटर उचाइमा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदान लगायतका संरचना निर्माण हुने भएको छ ।
कोलाहल मुक्त स्थानमा खेलकुदको रौनक बढ्ने आशाले पोखरा महानगरपालिकाले उच्च पर्वतीय खेल मैदान पूर्वाधार निर्माण गर्न लागेको हो ।
पर्वतीय खेल मैदानलाई गौरवको योजनाका रूपमा लिएको महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकूदको अभ्यासस्थलका रूपमा विकास गर्ने गरी चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट काम शुरु गरीसकेको छ ।
चालु आर्थिक वर्षमा खेल मैदानका लागि रु ५० लाख बजेट विनियोजन गरिएकामा सो बजेटबाट खेल मैदान सम्याउने र तारबारको काम गरिने पोखरा महानगरपालिकाले जनाएको छ ।
मौजाको तोयँढापडाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहितका खेल पूर्वाधार निर्माणका लागि रु १६ करोडको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।
फुटबल मैदान (इलाभेन साइड), बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम), दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट, चमेनागृह, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने डिपिआरमा उल्लेख छ ।
शनिबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले फुटबल मैदानको संयुक्त रुमपा शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर जिसीले उच्च मैदानले पर्यटन प्रवद्र्धनमा समेत मद्दत पुर्याउने बताएका छन् ।
‘विश्वकै उत्कृष्ट ठाउँमध्ये पोखरामा खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि खेल मैदानले सघाउने छ’ उनले भने,‘सजिलो रूपमा पहुँच पुग्न सक्ने यस ठाउँमा खेल मैदानको निर्माणमा सहयोग गर्र्नु सबै पोखरेलीको दायित्व हो ।’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य थापाले खेल मैदानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडा नम्बर २० मा बन्न निर्माण हुन लागेको संरचनाको मैदान नजिकै नेपालकै चर्चित आँटी घर मौजा होम–स्टेसमेत छ । जसकारण पनि सो स्थानमा नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण (क्लोज क्याम्प) चलाउन सकिने वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङको भनाइ छ ।
‘हिमालको काखमा ग्रामिण परिवेशमा अर्गानिक वस्तुहरु खाएर प्रशिक्षण गराउने हो’ गुरुङले भने,‘त्यती गरे पक्कैपनि नेपालको फुटबलमा सकारात्मक नतिजा दिन्छ भन्नेमा हामी विश्वस्त छौं’ । त्यस्तै उनले मैदानसँगै त्यहाँ करीब २ हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्याराफिटसमेत निर्माण गरिने समेत बताए ।
मैदानबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरबस्ती तथा हरियाली जङ्गलको सुन्दरताले यस क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेकाले खेल पर्यटनको विकासमा कोसेढुङ्गा सावित हुने महानगरको विश्वास छ ।