काठमाडौं । किर्गिस्तानको युथ टिमविरुद्धको मैत्रीपुर्ण फुटबल खेलका लागि विभागीय टिम आर्मीले जर्ज प्रिन्स कार्कीको कप्तानीमा टोली घोषणा गरेको छ ।
एएफसी कपको तयारीमा रहेको आर्मीले किर्गिस्तानसंग आईतबार मैत्रीपुर्ण फुटबल खेल्न लागेको हो ।
दशरथ रंगशालामा हुने खेल केहिबेरमा सुरु हुनेछ ।
दर्शकका लागि निशुल्क खेल हेर्ने ब्यवस्था एन्फाले मिलाएकाे छ ।
त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न किर्गिस्तान नेपाल भ्रमणमा छ । प्रतियोगिताबाट बाहिरिसकेको किर्गिस्तानको टोलीसंग आर्मीले मैत्रीपुर्ण फुटबल खेल्न लागेको हो ।
कार्कीको कप्तानी रहेको आर्मीको टोलीमा विश्वास चौधरी, दिपक गुरुङ्ग, विकास तामाङ्ग, गौतम श्रेष्ठ, विवेक बस्नेत, सन्तोष तामाङ, सेसहाङ्ग आङ्गदाम्बे, सुमन अर्याल र नवयुग श्रेष्ठ छन् ।
एएफसी क्लब लाईसेन्स भएका कारण आर्मीले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेल्ने तयारी गरेको छ ।
आर्मीका भरत खवास र विकेश कुथु राष्ट्रिय फुटबल टिममा रहेका कारण टोलीमा अनुपस्थित रहनेछन् ।
राष्ट्रिय टिमबाट फालिएका नवयुगलाई आर्मीले मुख्य फरवार्डको रुपमा मैत्रीपुर्ण खेलविरुद्ध उतारेको छ ।
आर्मीले एएफसी कपको प्लेअफको तयारी गरिरहेको छ ।
आर्मीले प्लेअफको पहिलो खेल दशरथ रंगशालामा श्रीलंकाको पुलिस क्लबसंग अप्रिल ७ मा खेल्नेछ ।
पुलिसलाई हराएको खण्डमा आर्मीले दोस्रो खेलमा भारतको बेङ्गलोर फुटबल क्लबसंग खेल्नेछ । सो खेल अप्रिल १४ मा हुनेछ ।
भारतीय टिमलाई पराजित गरेमा आर्मीले प्लेअफ विजेताको रुपमा समुह डीमा स्थान बनाउनेछ ।
सो समुहमा भारतको मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड क्रिएसन रहेका छन् ।
यस समुहका खेलहरु मे १४ बाट सुरु हुनेछन् ।
