नेपालगन्ज । एन्फा प्रेसिडेन्ट लिग फुटबलमा प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको छ ।
मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७ औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी अवसरमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
प्रतियोगितामा मनकामना पहिलो जित पारेको हो । जितसँगै मनकामनाले ३ अंक जोडेको छ । लेकालीले भने अहिले सम्म जित हासिल गर्न सकेको छैन ।
खेलमा लेकाली युवा क्लबका कप्तान युद्ध शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई लुम्बिनी फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारीले पुरस्कृत गरे ।
लगातार हारको सामना गरेपनि मनकामनाले मंगलबार लेकाली विरुद्ध सम्हालिएर खेलेको थियो । यसअघिका तिन खेलमा मनकामना युवा क्लब रौतटहले स्टार सिटी, धम्बोझी क्लब र धादिङ समाजको तिनै खेलमा ३–० ले पराजित भएको थियो । लेकाली युवा क्लब भने झापाको सैनिक युथ क्लबसँग १–१ को बराबरी खेल्दै १ अंक बटुलेको थियो । लेकालीले धादिङ समाज विरुद्धको खेलमा ९–१ ले पराजित भएको थियो भने त्रिवेणी युवा क्लब लमजुङसँग २–१ खेल गुमाएको थियो ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।
प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।